रवि लामिछानेलाई संगठित अपराधमा मुलुकी अपराध संहिताको दफा ३० आकर्षत हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गोरखा मिडियाका सञ्चालक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ऐनको दफा १२२ र मुलुकी अपराध संहिताको दफा ३० आकर्षित हुने बताएका छन् ।

बुधबार वीपीनगर, ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा थापाले सहकारी छानबिन समितिले नै उनीहरूलाई प्रचलित कानूनबमोजिम कारबाही गर्न सिफारिस गरेको बताए ।

उनले भने, ‘गोरखा मिडियाले एउटामात्र होइन, दर्जनौं सहकारीलाई ठगेको छ । गैरकानूनी तरिकाबाट सहकारीको पैसा ल्याएको छ ।’

‘अनि अहिले आएर मैले चेकमात्र काटेको हुँ, पैसा कहाँबाट आएको हो थाहा छैन भन्न मिल्दैन’, थापाले भने, ‘छानबिन समितिले नाम नै उल्लेख गरेर गोरखा मिडियाका सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलालाई प्रचलित कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको छ ।’

महामन्त्री थापाले भने, ‘उनीहरूलाई सहकारी ऐनको दफा १२२ र संगठित अपराधमा मुलुकी अपराध संहिताको दफा ३० आकर्षत हुन्छ ।’

महामन्त्री थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद गीता बस्नेतमाथि पनि सहकारी ऐनको दफा १२२ बमोजिम नै कारबाही भइरहेको बताए ।

उक्त दफाले सहकारीमा बसेर होस् वा बाहिरबाट ठगी गर्नेहरूलाई कारबाही हुने उल्लेख रहेको थापालेबताएका छन् ।

उनले गोरखा मिडियाले आफूले सोँचेको भन्दा बढी ठगी गरेको बताएका छन् । महामन्त्री थापाले गोरखा मिडियाका सञ्चालकले बिउ पुँजी पनि सहकारीबाट ठगेर ल्याएको बताए ।

महामन्त्री थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट समितिका सदस्यसमेत रहेका शिशिर खनाललाई छट्टुको भनेर टिप्पणी गरेका छन् । ‘प्रतिवेदनमा सहकारी ठग्नेलाई कारबाही गरियोस् भनेर सही पनि गर्ने अनि बाहिर आएर हाम्रो सभापतिले क्लिन चिट पाउनुभयो भन्नेलाई छट्टु नभनेर के भन्ने’, उनले भने ।

थापाले आफूहरूकै जोडबलमा सहकारी ठगीसम्बन्धी संसदीय समिति बनेको र समितिको प्रतिवेदनबाट सत्य खुलेको बताएका छन् ।

उनले भने, ‘गोर्खा मिडियाका सञ्चालक आफैं सरकारको जिम्मेवार पदमा भएका करणले सहकारी ठगीमा छानबिन हुन सकेको थिएन । उनीविरुद्ध जाहेरी पर्दापर्दै पनि छानबिनमा अवरोध गरियो ।’

‘त्यसैले राज्यका निकायले छानबिन गर्छ भनेर विश्वास नरहेपछि हामीले संसदलाई गुहारेका थियौं’, कांग्रेसका महामन्त्री थापाले भनेका छन् ।

Published : Wednesday, 2024 September 18, 7:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया