कांग्रेसको १०० दिने अभियानमा के के हुनेछ ?

काठमाडौं । नेपाली कांग्रेसले असोज ७ गतेदेखि १०० दिने विशेष अभियान सञ्चालन गर्न लागेको छ ।

बुधबार वीपीनगर, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम गरेर जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको छ ।

पुस १६ गते सकिने अभियान सकेर फर्किँदा प्रतिनिधिहरुले केन्द्रीय कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्ने महामन्त्री थापाले बताएका छन् । प्रतिनिधिहरुले वडा, पालिका, जिल्लाको बैठक बस्न नसकेको भए बैठक नियमित बस्ने वातावरण बनाउनु पर्ने थापाले बताएका छन् ।

सय दिने अभियानमा सदस्यता विशेष अभियानका रुपमा सदस्यता घर आगन अभियान सञ्चालन हुनेछ ।

क्रियाशील सदस्यता कार्ड पुगे/नपुगेको अभिलेख राख्ने, सदस्यता कार्ड वितरण नभएको भए केन्द्रीय प्रतिनिधिले वितरणको व्यवस्था गर्नुपर्नेछ ।

केन्द्रीय प्रतिनिधिले भ्रातृ तथा शुभेच्छुक संस्थामा रहेका समस्या पनि समाधान गर्नुपर्नेछ । भ्रातृ एवं शुभेच्छुक संस्थामा विवाद भए त्यसको प्रकृति निक्र्यौल गरी समाधानका लागि समन्वय गर्नुपर्नेछ ।

१०० दिने अभियानका क्रममा कांग्रेस र एमालेबीच भएको सत्ता सहकार्य, महासमितिबाट पारित दस्तावेज र पार्टीले लिएका मुख्य मुख्य नीति, संविधान संशोधन, सहकारी ठगी प्रकरणमा पार्टीले लिएको अडान लगायतमा प्रतिनिधिले जानकारी गराउनु पर्नेछ ।

केन्द्रीय प्रतिनिधिले सय दिने सांगठनिक अभियानको वडासमेत सम्पूर्ण अभिलेख विवरण सहितको प्रतिवेदन केन्द्रले तोकेको ढाँचामा केन्द्रीय कार्यालयमा पेश गर्नुपर्नेछ ।

Published : Wednesday, 2024 September 18, 7:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया