मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनु छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान दिवसका अवसरमा शुभकामना दिएका छन् ।

बुधबार साँझ शुभकामना सन्देश जारी गरेर सभापति देउवाले भने, ‘मुलुकमा लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरूमा आफ्नो जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात–अज्ञात बीर शहिदहरूको समर्पण र वलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।’

देउवाले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि हो ।’

‘यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ’, सभापति देउवाले भने ।

‘संविधान जारी भएको यो ऐतिहासिक दिनलाई हामी सबैले गौरव साथ स्मरण गर्दै हरेक वर्ष संविधान दिवसका रुपमा मनाउँदै आएका छौँ’, सभापति देउवाले भने ।

उनले भने, ‘संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन यो संविधान दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

‘संविधानको सफलतासँग हामीले देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प आजको घडीमा जरूरी छ’, सभापति देउवाले भने ।

उनले भने, ‘संविधान दिवसको यस पावन अवसरमा विगतका हरेक राजनीतिक र सामाजिक आन्दोलनको अगुवाई गरेका हाम्रा अग्रज नेता गणहरू, विभिन्न आन्दोलनका क्रममा ज्यानको आहुति दिने बीर सहिदहरू, लोकतन्त्र प्राप्तिको आन्दोलनमा त्याग, संघर्ष र योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरू, हरेक आन्दोलनमा साथ सहयोग गर्ने नागरिकहरू लगायत सबैप्रति उच्च सम्मान प्रकट गर्दै संविधान दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

Published : Wednesday, 2024 September 18, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया