परराष्ट्रमन्त्री डा.राणा र क्यानडाकी विदेशमन्त्री जोलीबीच भेट, राजदूतावास स्थापनाका लागि आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र क्यानडाकी विदेशमन्त्री मेलानी जोलीबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

बुधबार क्यानडाको ओटावामा भएको भेटवार्ताका क्रममा नेपाल–क्यानडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको मन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।

क्यानाडेली विदेशमन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा.राणा क्यानडा पुगेकी हुन् ।

उनीहरूले दुई देशबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रही आएको बताएका छन् ।

नेपाल र क्यानडाले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउँदैछन् ।

परराष्ट्रमन्त्री डा.राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानडाले पु¥याएको सहयोगको प्रशंसा गरेकी थिइन् ।

नेपालको संसदले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पास गरेको र यसबाट अब बाँकी रहेका शान्ति प्रक्रियाका कामहरू पनि पूर्ण हुने परराष्ट्रमन्त्री डा.राणाले जानकारी गराएकी छिन् ।

भेटवार्तामा परराष्ट्रमन्त्री डा.राणाले नेपालमा पछिल्लो महाभूकम्प, कोभिड महामारीजस्ता अप्ठेरो अवस्थामा पु¥याएको सहयोगका लागि क्यानडा सरकारलाई धन्यवाद ज्ञापन गरेकी छिन् ।

नेपाललाई विभिन्न क्षेत्रमा विभिन्न शीर्षकबाट विगत लामो समयदेखि क्यानडाले पुर्‍याएको आएको आर्थिक सहायता तथा विकास साझेदारका रुपमा गर्दै आएको सहयोगको त्यस अवसरमा मन्त्री डा.राणाले स्मरण गरेकी छिन् ।

मन्त्री डा.राणाले नेपालमा क्यानडाको राजदूतावास स्थापनाका लागि क्यानडा सरकारलाई आग्रह गरेकी छिन् । डा.राणाले भनिन्, ‘अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीको संख्या दिनप्रतिदिन बढ्दै छभने नेपाल आउने क्यानडेली पर्यटकको संख्या पनि पछिल्लो समय बढ्दो छ ।’

‘अनुसन्धानदाता, व्यवसायी तथा अरु पनि दुई देशका धेरै क्षेत्रका नागरिकबीच भ्रमणहरु आदानप्रदान भइरहेको छ’, डा.राणाले भनिन्, ‘त्यसैले क्यानडाले नेपालमा दूतावास स्थापना गर्नु मनासिब हुनेछ, म यो अनुरोध गर्न चाहन्छु ।’

एसियाका दुई ठूला देशका बीचमा रहेको नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा आफ्नो राजदूतावास स्थापना गर्नु क्यानडाका लागि आवश्यक छ भनेर पनि सोचिदिन सो अवसरमा विदेशमन्त्री जोलीसमक्ष आग्रह पनि गरेकी छिन् ।

क्यानडाकी विदेशमन्त्री जोली पछिल्लो समयमा समावेशिताका साथै महिला अधिकारका क्षेत्रमा नेपालले गरेको प्रगतिको पनि प्रशंसा गरेकी थिइन् ।

जोलीले क्यानाडेली पेन्सन फन्डका माध्यमबाट नेपालमा आवश्यक सहयोग गर्न क्यानाडा सरकार तयार रहेको बताइन् । जोलीले परराष्ट्रमन्त्री डा.राणाले राखेको नेपालमा क्यानडेली दूतावास स्थापनाको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया पनि दिए ।

हाल क्यानडामा नेपालीहरुको बढ्दो उपस्थिति खुसीको कुरा हो भन्दै मन्त्री जोलीले नेपालीहरू इमान्दार र काममा लगनशील भएको प्रतिक्रिया उनीहरुको कामका कारण आफूले पाएको बताएकी छिन् ।

Published : Thursday, 2024 September 19, 11:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया