कांग्रेस आफ्नै खुट्टामा उभिएर अघि बढ्नुपर्छ : डा.शशांक कोइराला

धुलिखेल । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले कांग्रेस आफ्नै खुट्टामा उभिएर अघि बढ्नुपर्ने बताएका छन् ।

शनिबार काभ्रेको धुलिखेलमा वीपी कोइरालाको सालिक अनावरण कार्यक्रममा डा.कोइरालाले भने, ‘६० प्रतिशत मानिसहरू ४० वर्षमुनिका छन् । नेताहरूले कहिल्यै पनि तिनीहरूलाई सम्बोधन गरेनन् ।’

‘सबै बुढाहरूका लागि मात्रै सम्बोधन गरे । हामीले कहिल्यै पनि युवाहरुलाई सम्बोधन गर्न सकेनौं’, उनले भने ।

‘जहिले पनि मन्त्रीहरू बुढैहरू बन्छन् । युवाहरूले कहिल्यै चान्स नै पाउँदैनन्’, डा.कोइरालाले भनेका छन् ।

‘मन्त्री मात्रै होइन, कुनै पनि ठाउँमा युवाहरूलाई प्रोत्साहन किन गर्दैनौं हामी ? भोलिको राजनीति त उनीहरूको हातमा दिनुपर्ने हो’, उलने भने ।

नेता डा.कोइरालाले कांग्रेसले बलियो भएर पनि बहुमत ल्याउन नसकेको अवस्थाको अन्त्य हुने गरी काम गर्नुपर्ने बताएका छन् ।

उनले पार्टी नेतृत्वका लागि युवाहरूलाई अघि बढाउनुपर्ने बताए । कांग्रेसका युवाहरू अघि बढेकाले उनीहरूलाई नेतृत्वमा ल्याउनका लागि पार्टीले प्रोत्साहित गर्नुपर्ने डा.कोइरालाले बताएका छन् ।

उनले युवाहरूको मागलाई पार्टीले सम्बोधन नगरेको बताए ।

शेरबहादुर देउवा सदावहार पार्टी सभापति नहुने भएकाले पनि त्यसमा युवाहरूलाई ल्याउनुपर्ने नेता डा.कोइरालाले बताएका छन् ।

वीपी कोइरालाले पदबाट राजीनामा दिएर कृष्णप्रसाद भट्टराईलाई पार्टी सभापतिको पदको जिम्मेवारी दिएको उनले बताए । डा.कोइरालाले त्यसबाट सिकेर अहिलेको नेतृत्वले पनि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

Published : Saturday, 2024 September 21, 9:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया