गोली लागेपछि बुहारीको मृत्यु, ससुरा घाइते, अभियुक्त फरार
मलंगवा । सर्लाहीमा २३ वर्षीया चित्रलेखा यादवको गोली हानेर हत्या भएको छ । गोली प्रहार गर्नुको कारणबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
हरिपुर्वा नगरपालिका वडा नम्बर ५ मा बिहीबार बिहान पौने दुई बजे अभियुक्तले गोली प्रहार गरी चित्रलेखा यादवको हत्या गरेको प्रहरीले जनाएको छ । गोली प्रहार गरेर हत्या गर्नेमा चित्रलेखा यादवकै पति रहेको प्रहरीले अनुमान गरेको छ ।
गोली प्रहारबाट ५४ वर्षीया रामदिनेश राय घाइते भएका छन् । रामदिनेश यादव मृत्यु भएकी चित्रलेखा यादवका ससुरा हुन् ।
अभियुक्त हाल फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता (डीएसपी) दीपक श्रेष्ठले बताए ।
चित्रलेखा यादव बायाँ कञ्चटमा गोली लागेको अवस्थामा फेला परेकी थिइन् । उनको घटनास्थलमै मृत्यु भएको छ ।
हत्याको घटना अनुसन्धान गर्न प्रहरी परिचालन भएको छ । अभियुक्तको परिचय प्रहरीले गोप्य राखेको छ । अभियुक्त भारततिर फरार हुन सक्ने भन्दै प्रहरीले कडा निगरानी गरेको छ । घाइते रामदिनेश यादवको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।
प्रहरीले घटनास्थलबाट दुई राउन्ड खोका र एक थान नपड्किएको गोलीसमेत बरामद गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया