जीबीसँग मिलेर सहकारीको करोडौं भ्याएका रवि लामिछाने पक्राउ, विक्षिप्त भएर बरबराए

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् ।

शुक्रबार काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पूर्वप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेलाई पक्राउ गरेको हो । लामिछानेले १८.४५ बजे पक्राउ पुर्जी बुझेर कागजमा हस्ताक्षर गरेका छन् । लामिछानेलाई स्थलमार्गबाट पोखरा लगिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको छ । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरेअनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

अदालतबाट पक्राउको अनुमति पाएपछि कास्की प्रहरीले सीआईबी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी पठाइदिन पत्राचार गरेको थियो ।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछानेले गीतेन्द्रबाबु राई (जीबी)सँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो ।

प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसपछि जोशी गत असोज ६ गते नै पक्राउ परिसकेका छन् । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् ।

पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपियाँ ल्याइएको थियो, कम्पनीमा अध्यक्ष जीबी राई र प्रबन्ध निर्देशक लामिछाने थिए ।

लामिछानेले गोर्खा मिडियामा १५ प्रतिशत स्वेट सेयर लिएर प्रवेश गरेको र निस्कँदा त्यो सेयर कम्पनीलाई नै फिर्ता गरेको दाबी गरेका थिए । यो रकम स्वेट सेयर नभइ सहकारीको रकम भएको र उनी कम्पनीबाट बाहिरिने क्रममा पैसा लिन बुझाएका कागजातमा पनि किर्ते गरिएको प्रतिवेदनमा उल्लेख छ ।

संगठित तवरले कीर्तेसमेत गरी सहकारी ठगी गरेको र त्यस्तो रकमबाटै गोर्खा मिडिया नेटवर्क सञ्चालन गरिएकाले सम्पत्ति शुद्धीकरण निवारण ऐनको कानुनअनुसार कारबाही हुने विषय प्रतिवेदनमा उल्लेख छ ।

जीबी अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको साहारा सहकारीका करिब ५० हजार सर्वसाधारणले बचत गरेको रकम सारिएको थियो ।

तत्कालीन उपप्रधान तथा गृहमन्त्री लामिछानेले सहकारी बचतकर्ताले प्रहरीमा दिएको उजुरीलाई पनि दबाउन लगाएर अनुसन्धानमा अवरोध गरेको भन्दै संसदमा लगातार आवाज उठेपछि गत जेठ १५ मा संसदीय छानबिन विशेष समिति गठन भएको थियो ।

उता, लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान हुने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई संगठित अपराधमा पनि अनुसन्धान गर्नका लागि पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो ।

लामिछानेले पक्राउ पुर्जी बुझेपछि रास्वपा पार्टी कार्यालयमा अदालतको सम्मान गर्ने र अदालती प्रक्रियालाई सम्मान गर्ने त प्रतिक्रिया दिएका छन् । उनले आफू पक्राउ पर्नुलाई उनले राज्यको दादागिरी भनेका छन् । उनले आफूले सम्झौता नगर्दा सरकार ढलेको र नयाँ सरकार बन्ने सम्झौताकै क्रममा आफूलाई पक्राउ गर्ने सहमति नभएको बताएका छन् ।

‘मैले धेरै भन्नुपर्ने केही छैन । आम नागरिकले सबैकुरा देखेका छन् । उनीहरूले जस्तै सम्झौता गरेको भए सरकार लम्बिन्थ्यो होला । जुन दिन सरकार ढाल्ने सम्झौता भएको थियो त्यो दिन नै रविलाइ पक्राउ गर्ने सहमति थियो’, लामिछानेले भने, ‘देशको आशा र भरोसामाथि प्रहार भएको छ । म कुनै पनि अदालति प्रक्रियालाई सम्मान गर्न चाहन्छु ।’

लामिछाने आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि दिउँसो निकै विक्षिप्त र अराजनीतिक भाषामा एउटा लामो फेसबुक स्टाटस समेत लेखेका थिए । उनले भनेका छन्, ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो !!’

लामिछानेले प्रधानमन्त्री केपी ओलीलाई संकेत गर्दै बिचौलियाको सेवा गरेको आरोप लगाएका छन् ।

‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ? तपाईं विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपी दिनुपर्ने ?’, लामिछानेले भनेका छन् ।

‘तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि केही भेट्दैनौं अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुईतिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने ?’, लामिछनेले भने ।

‘ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याएँ, तिनै भ्रष्टाचारी जोगाउन तपाईंले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो । वाचा स्वरुप तपाईंले मेरो बली चढाउने सम्झौता त्यसै रात गर्नु भएको थियो। यो मलाई राम्रोसँग थाहा छ’, सभापति लामिछानेले भनेका छन् ।

सभापति लामिछाने पक्राउ पर्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी भएको छ । लामिछानेलाई पक्राउ गर्ने क्रममा राजस्वा कार्यकर्ता र समर्थकले प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी गरेका हुन् ।

Published : Friday, 2024 October 18, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया