एमालेपछि मीनबहादुरले दिएको घरमा राप्रपाका अध्यक्ष लिङ्देनको बास

काठमाडौं । अदालतमा मुद्दा बिचाराधीन रहेका व्यवसायीबाट नेकपा (एमाले)ले पार्टी कार्यालय बनाउन अरबौं दान लिएर कानूनी राज्यको उपहास, स्वार्थको बझान गरेको भन्दै चौतर्फी आलोचना भइरहँदा आफूलाई भ्रष्टाचारविरोधी र आदर्शको सगरमाथा भनेर प्रस्तुत गर्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोही व्यापारीबाट अनुचित आर्थिक लाभ लिएको रहस्य खुलेको छ ।

राप्रपा अध्यक्ष लिङ्देन करिव दुई वर्षदेखि ललितपुरको लामाटारस्थित ग्रीन भ्याली होम्सको हाउजिङ कोलनीमा निःशुल्क बसोबास गर्दै आएको राप्रपाका एक नेताले दाबीसहित बताएका छन् । ग्रीन भ्याली होम्स अदालतमा मुद्दा खेपीरहेका मीनबहादुर गुरुङको स्वामित्वमा रहेको हाउजिङ हो भने सोही व्यापारीको प्रायोजनमा लिङ्देनलाई बस्ने घर उपलब्ध गराइएको छ ।

लिङ्देन प्रतिनिधिसभाका सदस्य छन् । सांसद भएकै नाताले उनलाई जनताले तिरेको करबाट मासिक घरभाडा उपलब्ध गराइन्छ । नीति निर्माण गर्ने तहमा प्रतिनिधिसभा सदस्य, आर्थिक अनियमितता र भ्रष्टाचार छानविन र तत् विषयमा निर्देशन दिने अधिकारसम्पन्न सार्वजनिक लेखा समितिका लिङ्देन सदस्य छन् । उनी राष्ट्रिय पार्टीका अध्यक्ष हुन् र भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह भन्दै अग्लो आदर्शको कुरा गर्छन् ।

देश र जनताको हितमा बिना मोलाहिजा काम गर्ने शपथ खाएका सार्वजनिक व्यक्तिबाटै यस्तो अनुचित कार्य हुन्छ भन्ने देश र जनताले के आशा गर्ने ? किनभने लिङ्देनले व्यापारीमात्र हैन मुद्दा खेपीरहेका व्यापारीबाट आर्थिक लाभ थापेका छन् जो आमाको रगतमा डुबुल्की मारे बराबर हो भन्दा अतिशयोक्ति नहोला । एकातर्फ व्यापारीले दिएको घरमा बस्नु नै अनैतिक छ भने अर्कोतर्फ सांसदको नाताले लिङ्देनले घरभाडा बुझिरहेका छन् । अतः यसमा दोहोरी गल्ती अनियमितता भएको देखिन्छ ।

लामाटार हाउजिङमा सर्नुपूर्व लिङ्देन नखीपोटमा बस्थे र त्यहाँ पनि घरभाडा तिर्दैन थिए तैपनि सांसद सुविधाको मासिक घरभाडा लिइरहन्थे । राप्रपा सचिवालय सदस्य अनुसार, व्यापारी मीनबहादुर गुरुङसँग घर दिलाई माग्न अध्यक्ष लिङ्देनले गुरुङ थरका एक पदाधिकारी र गुरुङका ज्वाईँ केन्द्रीय सदस्यलाई परिचालन गरेका थिए ।

स्मरण रहोस् एमालेलाई जग्गा दान दिने बेला व्यापारी गुरुङले अरु पार्टीलाई पनि सहयोग गरेको र गरिरहने बताएका थिए । आफूलाई भ्रष्टाचारविरोधी र आदर्शवादी बताउने लिङ्देनले समेत गुरुङको यो दावी सार्वजनिक रुपमा प्रतिवाद गरेका छैनन् ।

रोचक के छ भने शुक्रबार सम्पन्न प्रतिपक्षी दलहरुको बैठकले मुद्दा बिचाराधीन रहेका व्यवसायीबाट प्रधानमन्त्रीकै पार्टीले पार्टी कार्यालय बनाउन अरबौं दान लिनु गलत हो भन्ने निष्कर्ष निकालेको थियो भने उक्त बैठकमा लिङ्देन आफैं सहभागी थिए ।

लिङ्देनबाट धेरै आश गर्ने शुभचिन्तकहरु उनको कामबाट हाल निराश छन् । एनसेल काण्डमा एकपटक बोले तर, एकाएक गुमनाम बने, ढोल पिट्दै पोखरा विमानस्थलको छानविन गरे त्यसपछि चुपचाप बसे, सहकारी काण्ड र गिरीबन्धु जग्गा प्रकरणमा चुइक्क बोलेका छैनन् । ‘भ्रष्टाचार निर्मूल गर्ने भन्छन् तर लिङ्देनको कथनी र करनीमा मेल छैन, सुरुमा धेरै आश गरेपनि अहिले हामी निराश भएका र्छौं’, धरान घर भएका सन्तोष राई भन्छन् ।

राप्रपाभित्रको आर्थिक पारदर्शीता पनि त्यस्तै छ । ‘केन्द्रीय सदस्यहरुबाट मासिक २९ लाख रूपैयाँ लेबी उठ्छ, घरभाडा तिर्न पर्दैन, मासिक कर्मचारी प्रशासन खर्च भनेको ३ लाख हो, बाँकि रकम कहाँ जान्छ स्पष्ट लेखाजोखा छैन । ७७ जिल्लामा मासिक सहयोग दिने जिल्ला अध्यक्षहरुको भेलाको निर्णयअनुसार जिल्ला समितिलाई अध्यक्ष रकम दिन मान्दैनन्,’ एक केन्द्रीय सदस्य बताउँछन् ।

नेपाली कांग्रेस, एमाले, माओवादी एक सिक्काका दुई पाटा हुन् र ती दलका नेताहरुबाट देशको मुहार फेरिन्छ भन्ने आशा राख्नु गोरुको मुन्तिर बाल्टी थाप्नुसरह भनेर अग्लो आदर्शको कुरा गर्थे लिङ्देन । तर, समयसँगै लिङ्देन आफ्नै भनाइ अनुसारको ‘दुध दिने धर्म नभएको गोरु’मा रुपान्तरण भएकी भन्ने जनताको आलोचना काम र नतिजाले शान्त गर्ने जिम्मेदारी भने लिङ्देनमै आएको देखिन्छ ।

Published : Saturday, 2024 October 19, 2:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया