सभामुखसामु संसदका अटेरी कर्मचारीविरुद्ध बम्किए चालिसे, सांसद र सभापतिलाई असहयोग

काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले विभिन्न क्षेत्रका व्यवसायीहरूको समस्या र गुनासाहरू सुन्न आयोजना गरिएको कार्यक्रमको बिलको रकम तिर्न संघीय संसद सचिवालयका कर्मचारीहरूले अटेर गरेको भन्दै आक्रोश पोखेका छन् ।

मंगलबार सिंहदरबारस्थित संसद सचिवालयमा समितिका सभापतिहरूसँग सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा अर्थ समितिका सभापति चालिसेले करीव ३ लाखको बिल तिर्न सहजीकरण गर्न आग्रह गरेका छन् । चालिसेले अर्थ समितिले कार्यक्रम र बैठकहरू आयोजना गर्दा संसद सचिवालयका कर्मचारीहरूबाट असहयोग भएको भन्दै सभामुख घिमिरेसँग गुनासो गरे ।

असार महिनातिर अर्थ समितिले होटल सोल्टीमा करीव १ सय ५० जना उद्योगी, विभिन्न क्षेत्रका व्यवसायी, होटल व्यवसायी, संघ/संस्थाका प्रतिनिधिहरू लगायतसँग दुई दिनसम्म छलफल गरेको थियो ।

खाना र नास्ता समेत गरी दुई दिनको खर्चको बिल करीव ३ लाख रुपियाँ आएको छ । बिल तिर्न संसद सचिवालयका कर्मचारीहरूले नियमले मिल्दैन भन्दै अटेर गरेपछि सभापति चालिसेले सभामुख घिमिरेसमक्ष चर्को स्वरमा कुरा राखेका हुन् । सभापति चालिसे बम्किएपछि सभामुख घिमिरेले निकास खोज्ने आश्वासन दिएका छन् ।

अर्थ समितिले यस्तै कार्यक्रमहरूका लागि पाउने बजेटमा पनि कर्मचारीहरूले विभिन्न बहाना र नियम देखाएर भुक्तानी गर्न अटेर गरेका हुन् ।

सभापति चालिसेले भने, ‘संसद सचिवालयमा रहेको बैठक कक्षमा १५० जना मानिसलाई बोलाएर छलफल गर्न पनि सकिदैन । सकेसम्म समितिको बैठक कक्षमा बैठक राख्ने गरेका छौँ । खाना र खाजाको व्यवस्था पनि राम्रो छैन । हाम्रो क्षेत्राधिकारभित्र रहेर उद्योगी, व्यवसायीहरूका प्रतिनिधि, संघ/संस्थाहरूसँग पालैपालो छलफल गर्न होटलमा कार्यक्रम राखेका थियौँ । कार्यक्रमको बिल करीव ३ लाख आएको छ । समितिको बजेटबाट तिर्न पनि कर्मचारीले मानेका छैनन् ।’

अर्थ समिति छिटै भन्सारहरूको अनुगमनमा जान लागेको छ । संसद सचिवालयले खर्चको बिल नदिने हो भने समितिका सदस्यहरू कसरी अनुगमन र कार्यक्रमहरूमा जान्छन् ? भनेर सभापति चालिसेले प्रश्न गरेका छन् ।

संसद सचिवालयका कर्मचारीहरू साह्रै अटेरी र जिद्दी भएका छन् । कसैलाई टेर्दैनन् भनेर सांसदहरूले बेलाबेला गुनासाहरू गर्दै आएका छन् । यस्ता नकम हराम कर्मचारीहरूका कारण जनप्रतिनिधिहरू अर्थात् सांसदहरूले सहज रुपमा काम गर्न सकिरहेका छैनन् ।

Published : Tuesday, 2024 October 22, 8:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया