सुविधासहित ९९ खेलाडीलाई विशेष प्रशिक्षण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिसन–२०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण मंसिर १ गतेदेखि शुरु गर्न लागेको छ ।

मंसिरदेखि सुरु हुने विशेष प्रशिक्षणमा पारा तेक्वान्दोसहित १२ खेल समावेश गरिएको छ । ४५ पुरुष र ५४ महिला गरी ९९ खेलाडी विशेष प्रशिक्षणमा सहभागी हुनेछन् । प्रशिक्षणमा २२ प्रशिक्षकलाई परिचालन गरिनेछ ।

करातेमा समान ५/५ पुरुष/महिला, तेक्वान्दोमा ६ पुरुष र ४ महिला, बक्सिङ, उसु र एथलेटिक्समा समान ४/४ पुरुष/महिला तथा जुडो र कुस्तीमा समान ३/३ पुरुष/महिला खेलाडी प्रशिक्षणमा सहभागी हुनेछन् ।

कबड्डीमा समान १२/१२ पुरुष/महिला तथा महिला भलिबलमा १२ खेलाडी हुनेछन् । गल्फमा २ पुरुष र १ महिला खेलाडी तथा पारा तेक्वान्दोमा समान २/२ पुरुष/महिला खेलाडी समावेश हुनेछन् ।

गल्फ र पारा तेक्वान्दोमा समान १/१ प्रशिक्षण हुने छन् । बाँकी खेलमा २ प्रशिक्षकलाई समेटिनेछ ।

गल्फ, पारा तेक्वान्दो र पुरुष कबड्डी थप गरिएको छ । सम्बन्धित राष्ट्रिय खेल संघले तोकेको कोटाअनुसार छनोट गरिएको राष्ट्रिय टिमका उत्कृष्ट खेलाडीलाई विशेष प्रशिक्षणमा समावेश गरिनेछ ।

उत्कृष्ट खेलाडीलाई वैदेशिक प्रशिक्षणको अवसर पनि दिइनेछ । विशेष प्रशिक्षणमा सहभागी खेलाडी तथा प्रशिक्षकलाई दैनिक जनही ५ सय रुपियाँ खुराक खर्च प्रदान गरिनेछ । प्रत्येकलाई १० हजार रुपियाँ मूल्य बराबरको किट्स सेट उपलब्ध गराइनेछ ।

असार मसान्तसम्म सञ्चालन गरिने विशेष प्रशिक्षणमा सहभागी सबैको प्रशिक्षण अवधिभर बीमा पनि गरिनेछ ।

सन् २०२६ मा जापानमा हुने २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि पदकको बढी सम्भावना भएका विभिन्न खेलका खेलाडीलाई समावेश गरी विशेष तयारी प्रशिक्षण सुरु गरेको थियो ।

५ खेलको ६ महिना तथा थप ५ खेलको ३ महिना विशेष प्रशिक्षण सञ्चालन गरिएको राष्ट्रिय टिम तयारीका निर्देशक दीपक बिष्टले बताएका छन् ।

एसियाली खेलकुदको कुनैपनि संस्करणमा नेपालले हालसम्म दोहोरो अंकमा जितेको छैन । सन् १९८६ मा दक्षिण कोरियको सिओलमा भएको एसियाली खेलकुदमा नेपालले बक्सिङ र तेक्वान्दोमा समान ४/४ गरी ८ कांस्य पदक जितेको थियो ।

Published : Wednesday, 2024 October 23, 9:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया