राष्ट्रपतिका सल्लाकार कुँवरले भने- जीबी, रवि, छविसँग सहकारीमा कुनै संलग्नता छैन

काठमाडौं । राष्ट्रपतिका कानून विज्ञ एवम् वरिष्ठ अधिवक्ता बाबुराम कुँवरले विभिन्न सञ्चारमाध्यमले आफ्नो विषयमा सहकारी लगायतका कुरा जोडेर समाचार सम्प्रेषण गरेकोमा गम्भीर खेद प्रकट गरेका छन् ।

बुधबार विज्ञप्ति जारी गरेर वरिष्ठ अधिवक्ता कुँवरले भने, ‘म र मेरो भाई प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको नाम जोडेर अनुसन्धानमा रहेको विषयवस्तुलाई प्रतिकुल प्रभावमा पार्ने कुत्सित उद्देश्यले कुनै स्पष्ट तथ्य विना स्रोतका अनुसार भन्दै निश्चित उद्देश्य प्राप्तिका लागि प्रकाशित अतिरञ्जित एवम् भ्रमपूर्ण समाचारप्रति गम्भीर एवम् खेदजनक ध्यानाकर्षण भएको छ ।’

उनले भने, ‘एउटा कानून व्यवसायीले कुनै पनि संस्था वा कम्पनीमा सल्लाहकारका रुपमा भूमिका निर्वाह गर्ने, मुद्दा मामिलामा पक्ष विपक्षमा वहस पैरवी गर्ने, संवैधानिक र कानूनी अधिकार हो ।’

‘यी अधिकारलाई दुरुत्साहित गर्ने गरी तथा सहकारी ठगी प्रकरणमा कानून कार्यन्वयनका लागि राज्यका तर्फबाट भएको छानबिन अनुसन्धानलाई समेत निरुत्साहित गर्ने कुत्सित मनसायले आएका त्यस्ता समाचारप्रति म दुःख व्यक्त गर्न चाहन्छु’, अधिवक्ता कुँवरले भने ।

‘नेचर हब्स प्रालि नामक कम्पनीमा करार बमोजिम मिति २०७७ वैशाख १ देखि करीब १ वर्ष ६ महिना कम्पनीको लिगल कन्सल्टेन्ट रहेको साँचो हो’, कुँवरले भने, ‘तर त्यसका नाममा वा त्योसँग जोडिएका कम्पनी वा मानिसहरूबाट भएका भनिएका विभिन्न प्रकरणहरूसँग मेरो कुनै संलग्नता र जानकारीको विषय नरहेको स्पष्ट पार्न चाहन्छु ।’

वरिष्ठ अधिवक्ता कुँवरले भने, ‘सो कम्पनीको लिगल कन्सल्ट्यन्टबाट अलग भएको बाहेक यी प्रकरणमा जोडिएको कुनै पनि कम्पनी, सहकारी तथा निजहरूको व्यक्तिगत वा सामूहिक सल्लाहकार भएको प्रमाण भेटिए, देखिए जस्तोसुकै छानबिन तथा कारबाही भोग्न पनि तयार छु ।’

‘नत्र एउटा कानून व्यवसायीको व्यवसाय गर्न पाउने हक र व्यवसायमाथि नै आँच पुर्‍याउने गरी प्रकाशन, प्रशारण भएका भ्रामक, कपोकल्पित र तथ्यहीन समाचारले लोकतान्त्रिक व्यवस्थाको खिल्ली उडाउनेभन्दा बाँकी केही हुन सक्दैन भन्ने मेरो धारणा हो’, कुँवरले भने ।

गितेन्द्रबाबु राई (जीबी), रवि लामिछाने, छविलाल जोशी लगायतसँग सहकारी प्रकरणमा वरिष्ठ अधिवक्ता कुँवरको नाम जोडेर बद्नाम बनाउने प्रयास भएपछि उनले खण्डन गरेका छन् ।

Published : Wednesday, 2024 October 23, 9:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया