अनुसन्धानलाई प्रभावित बनाउने गरी उछृङ्खल गतिविधि नगर्न रास्वपालाई कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा केही दिनअघि अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरूले गरिरहेको हुल–हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रकृयामा हुने प्रारम्भीक अनुसन्धानलाई नै प्रभावित गर्ने जनाएको छ ।

बुधबार विज्ञप्ति जारी गरेर कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले राज्यका तटस्थ निकायहरूलाई आतङ्कित र त्रसित पारी अनुचित दवाव सिर्जना गर्ने गतिविधि भैरहेको जनाएका हुन् । उनले यस्ता अनुचित क्रियाकलापप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले भने, ‘राज्यका वैधानिक निकायबाट भैरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणको कार्यलाई वाधा पु¥याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता र सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल पुर्‍याउने गतिविधिप्रति नेपाली कांग्रेस गम्भीर आपत्ति व्यक्त गर्दै भर्त्सना गर्दछ ।’

विश्वकर्माले भने, ‘कानून सबैका लागि समान हुन्छ र हुनु पर्छ । विधिको शासन भनेको कानूनका दृष्टिमा सबै नागरिक बराबरी हुनु हो ।’

‘मुलुकका केही सहकारी संस्थामा रकम जम्मा गर्ने बचतकर्ताको बचत हिनामिना भएको, उक्त रकम बचतकर्ताले फिर्ता नपाएको र उक्त रकमहरू कानून विपरीत सहकारी संचालकहरूले निजी कम्पनीमा समेत दिई अपचलन गरेको भन्ने व्यापक गुनासो आएको र केही सहकारीको रकम अपचलन गरेको भनी गोर्खा मिडिया कम्पनीका संचालकहरू– जीबी राई, छविलाल जोशी र प्रबन्ध निर्देशक एवं तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न निकायमा उजुर परेता पनि छानविन प्रकृया अगाडि नबढेको हुँदा प्रतिनिधि सभाका सांसदहरूले गृहमन्त्री स्वयं संलग्न रहेकोले प्रहरी प्रशासनले समयमा छानविन गर्न नसकिरहेको अवस्थामा प्रतिनिधि सभाबाट छानविनका लागि सहकारी छानविन संसदीय विशेष समिति गठन भयो ।’

‘समितिले विस्तृत अध्ययन पश्चात दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएकोले वर्तमान मन्त्रिपरिषदले निर्णय गरी प्रतिवेदन कार्यान्वयनको प्रकृयामा रहेको व्यहोरा सबैमा अवगत नै छ’, विज्ञप्तिमा भनिएको छ ।

‘प्रतिवेदनले कार्वाहीका लागि सिफारिश गरेका संलग्न विभिन्न आरोपित व्यक्तिहरूलाई सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरिनै रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

‘आरोपितहरूमध्ये गोर्खा मिडिया कम्पनीका संचालक जीबी राई फरार रहेको, छविलाल जोशी केही समय पहिल्यै पक्राउ परी अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका छन् । सोही प्रकरणमा जोडिएका अर्का आरोपित व्यक्ति रवि लामिछाने पनि केही दिन पहिले पक्राउ परी अनुसन्धानका लागि प्रहरी हिरासतमा नै रहेका छन् ।’

‘कुनै पनि कसूरमा आरोप लागेपछि वैधानिक निकायबाट गरिने अनुसन्धान, छानविन र न्यायिक प्रकृयालाई सहयोग पु¥याउनु प्रत्येक नागरिकको कर्तव्य हुन्छ भने राजनीतिक दलको झन बढी जिम्मेवारी हुनु पर्दछ’, कांग्रेसले भनेको छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भैरहेको गतिविधिहरुले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको छ’, कांग्रेसले भनेको छ ।

‘प्रचलित कानून बमोजिम कसूर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भए पनि उनीहरूमाथि समान ढंगले अनुसन्धान गरी कानूनी दायरामा ल्याउनु पर्छ भन्ने मान्यताप्रति हाम्रो पार्टी प्रतिवद्ध छ’, विज्ञप्तिमा उल्लेख छ ।

‘विधिको शासन कायम गर्न, न्यायिक प्रकृयालाई विश्वसनीय बनाउन, न्याय प्रणालीलाई स्वतन्त्र र निष्पक्ष बनाई राख्नु हामी सबैको कर्तव्य भएकोले हुनाले उत्तेजित र उच्छृङ्खल गतिविधि नगरी संयमित भई अनुसन्धान र न्यायिक प्रकृयामा सहयोग पु¥याउन सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकमा हार्दिक अपील गर्दछौं’, कांग्रेसले अपील गरेको छ ।

Published : Wednesday, 2024 October 23, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया