सरकारले राम्रो काम गरेको छ, व्यक्तिगत रुपमा लगाउने मुद्दा पनि होइन : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सरकारले धेरै राम्रो काम गरेको बताएकी छिन् ।

बुधबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले भनिन्, ‘जनताको धेरै अपेक्षा हुन्छ । त्यो स्वभाविक पनि हो ।’

‘जति हामीले गर्न सक्थ्यौँ । जस्तो बिग्रेको हालतबाट हामीले सम्हालेको सरकारमा धेरै राम्रो कामहरू हामीले गरेका छौँ’, डा.राणाले भनिन् ।

‘हामीलाई ठूलो च्यालेञ्ज भएको थियो आफ सिजनल वर्षाले । मलाई पनि लागेको थियो । म त्यो बेला विदेशमा थिएँ । दशैँको मुखमा सबै यातायात पनि बन्द हुन्छ, खाना पनि नपाइने हो की भन्ने लागेको थियो । आपूर्ति पनि नहोला जस्तो थियो । बाटो पनि बन्दा हुन्छ जस्तो थियो’, उनले भनिन् ।

‘प्रधानमन्त्रीज्यूको लिडरसिपमा हामी सबै मन्त्रीहरूले काम गर्दा बाटोहरू खोलियो । सहज आपूर्तिहरू भयो’, मन्त्री डा.राणाले भनिन्, ‘खानेपानी सुचारु रुपमा सञ्चालन भयो । यो राम्रो संकेत हो ।’

उनले भनिन्, ‘सरकारले निकै सिरियसली काम गरेको छ । सरकारले गर्नुपर्ने काम गरिरहेको छ । हण्ड्रेड प्रसेन्ट काम भएन होला । हामी खुसी छौँ ।’

रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी प्रकण पक्राउ परेको विषयमा सोधिएको प्रश्नको जवाफमा परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘प्रधानमन्त्रीले भन्नुभएको छ । यी मुद्दाहरू भनेको व्यक्तिगत रुपमा उठाउने मुद्दा पनि होइन । उहाँले व्यक्तिगत रुपमा लगाउने मुद्दा पनि होइन । यसमा कानूनी प्रावधानहरू छ ।’

‘कानूनी प्रावधान र अनुसन्धानले पाएको तथ्यको आधारमा न्यायालयले जे आदेश दिन्छ त्यहीअनुसार सरकारी संयन्त्र अगाडि बढ्ने हो’, डा.राणाले भनिन्, ‘सरकारी संयन्त्रले मुद्दाको अनुसन्धानको आधारमा जो जो यसमा संलग्न हुनुहुन्छ, यो त्यो म भन्दैन, नियम र कानूनले सबैलाई बराबरी देखेको छ । सोहीअनुसार अनुसन्धान हुन्छ ।’

मन्त्री डा.राणाले भनिन्, ‘पोलिटिकल मेम्बरसिप पार्टीभन्दा पनि एउटा नागरिकको हैसियतले जुन नियम कानून आज मान्नु पर्ने हो त्यो नमानेकोहरू सबै पर्छन् जस्तो मलाई लाग्छ ।’

Published : Wednesday, 2024 October 23, 10:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया