सत्य हुन भने पोखरातिरका खबर पनि रमाईलै रहेछन् : गोकुल बास्कोटा

काठमाडौं । एमालेका नेता गोकुल बास्कोटाले सहकारी ठगी काण्डमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेप्रति व्याङ्ग्य गर्दै पोखराको पर्यटन व्यवसाय धरासायी बनाइदिएको टिप्पणी गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत पूर्वमन्त्री समेत रहेका बास्कोटाले रवि लामिछानेको पक्राउपछि रास्वपाका नेता, कार्यकर्ताले पोखरातिर रमाइलो गरिरहेको बताए ।

उनले भने, ‘सत्य हुन भने पोखरातिरका खबर पनि रमाईलै रहेछन् । थप पाँच/सात हप्ता पनि यस्तै रह्यो भने पोखराले राम्रै कमाई गर्ने भो ।’

उनले भने, ‘अरु त कानून जाने । कानून आकर्षित भएका विषयमा डेमोक्रेसीले दबावपूर्ण एक्सन त गर्न सक्छ तर, फैसला गर्न सक्दैन ।’

‘कन्पारो तताउनु नतताउनु हरेकको आफ्नै मर्जी’, एमालेका नेता बास्कोटाले रास्वपाका नेता र लामिछानेप्रति कटाक्षपूर्ण टिप्पणी गरेका छन् ।

रास्वपाका सभापति लामिछानेलाई प्रहरीले सहकारी ठगी काण्डमा पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । लामिछाने दोषी छैनन् भनेर सीमित समर्थकहरूले पोखरामा दैनिक सरह प्रदर्शन गरिरहेका छन् । उनीहरूले अनुसन्धान र न्यायालयलाई प्रभावित तुल्याउन खोजेका छन् ।

केही अनलाइनहरूमा पोखरामा रास्वपाका कार्यकर्ताहरूको आन्दोलन शुरु भएपछि कण्डोमको व्यापार बढेको जस्ता समाचार पनि लेखेका छन् । विरोध कार्यक्रमपछि आयोजित कोणसभामा रास्वपाकी सांसद तोशिमा कार्कीलाई एक महिलाले मञ्चमा उक्लिएर किस गर्नुका साथै सेल्फी समेत लिएकी थिइन् ।

रास्वपाका नेता कार्यकर्ताहरूलाई पोखरातिर रमाइलो र पिकनिक गए जस्तो भएको भनेर टिकाटिप्पणी भइरहेका बेला एमालेका नेता बास्कोटाले पनि व्याङ्ग्य गरेका हुन् ।

Published : Thursday, 2024 October 24, 10:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया