आईजीपी कुँवरद्वारा शान्तिपुरमा नवनिर्मित छात्रावास भवनको उद्घाटन

भरतपुर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नेपाल पुलिस स्कुल चितवनको नवनिर्मित छात्रावास भवनको उद्घाटन गरेका छन् ।

बिहीबार आईजीपी कुँवरले नेपाल पुलिस स्कुल, शान्तिपुर, चितवनको नवनिर्मित छात्रावास भवनको उद्घाटन गरेका हुन् । उनले नवनिर्मित भवनको निरीक्षण समेत गरेका छन् ।

कुँवरले स्कुलले स्थापनाको छोटो समयमा शैक्षिक क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेको बताए । उनले नवनिर्मित भवनले स्कुलको शैक्षिक गतिविधि अझ प्रभावकारी र व्यवस्थित हुने अपेक्षा लिएको बताए ।

आईजीपी कुँवरले प्रहरी स्कुलप्रतिको अभिभावकको विश्वासलाई कायमै राखी आगामी दिनहरूमा संख्यात्मक तथा गुणात्मक आकार वृद्धिमा केन्द्रित रहन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालय परिवारलाई निर्देशन दिएका छन् ।

प्रहरी कर्मचारीहरू र सर्वसाधारणहरूका सन्ततिलाई उत्कृष्ट शिक्षा प्रदान गरी सक्षम नागरिक बनाउने जिम्मेवारीमा खरो रूपमा उत्रन विद्यालय व्यवस्थापन पक्षलाई आईजीपी कुँवरले निर्देशन दिएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्माले धन्यवाद मन्तव्य व्यक्त गरेका छन् ।

प्रहरी कल्याण कोषको ऋण सहयोगमा विद्यालयको आन्तरिक स्रोतबाट कुल ७ करोड ६५ लाख ८५ हजार ७ सय रूपियाँ ९५ पैसाको लागतमा उक्त भवननिर्माण कार्य सम्पन्न भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2024 October 24, 1:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया