सयौंको संख्याका सहकारीपीडितहरूद्वारा पोखरामा प्रदर्शन, व्यानरमा रवि-जीबी-छबिको फोटो

पोखरा । सूर्यदर्शन सहकारीका पीडितहरूले सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका व्यक्तिमाथि निष्पक्ष छानबिन गर्न दिनुपर्ने माग गर्दै भव्य प्रदर्शन गरेका छन् ।

बिहीबार पोखराको मुस्ताङ चोकमा सूर्यदर्शन बचत पीडित संघर्ष समितिको अगुवाइमा पीडितहरूले प्रदर्शन गरेका हुन् ।

पीडितहरूले सहकारीको अनुसन्धानलाई नै प्रभावित गर्ने गरी भइरहेको प्रदर्शन तत्काल रोक्नुपर्ने बचत रकम फिर्ता गर्नुपर्ने माग राखेका छन् ।

सहकारी पीडितहरूले रास्वपा नेता तथा कार्यकर्ताले पीडितहरूको घर–घरमा पुगेर धम्क्याउने, भड्काउने गरेको भन्दै आपत्ति समेत जनाएका छन् ।

प्रदर्शनमा सूर्यदर्शनसहित अन्य समस्याग्रस्त सहकारीका पीडितहरू समेत सहभागी भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने सहकारीको रकम ठगी काण्डमा पक्राउ परेपछि रास्वपाका नेता, कार्यकर्ताहरूले छाड्न माग गरेर दैनिक सरह प्रदर्शन गर्दै आएका बेला सयौँको संख्यामा सहकारीपीडितहरू प्रदर्शन गरेका छन् ।

पीडितहरूले जीबी राई, रवि लामिछाने र छबिलाल जोशीको फोटोलाई ब्यानरमा राखेर सहकारी ठगलाई कारबाही गर भनेर नाराबाजी समेत गरेका छन् ।

Published : Thursday, 2024 October 24, 2:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया