निर्माण व्यवसायीको समस्या समाधानमा के गर्न सकिन्छ प्रयास गर्नेछु : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूले भेट गरेर आफ्ना समस्याहरूको बारेमा जानकारी गराएका छन् ।

बिहीबार परराष्ट्र मन्त्रालय सिंहदरबारमा मन्त्री डा.राणासँग महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले व्यवसायीहरूको समस्या राखेको हो ।

परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले भनेको छ, ‘महासंघका अध्यक्ष रवि सिंहज्यूसहित उहाँहरूले आफ्ना व्यवसायिक समस्याहरूबारे अवगत गराउनुभयो । नेपाल सरकारसँग पाउनुपर्ने भुक्तानीका लागि पहल गरिदिन पनि उहाँहरूले आग्रह गर्नुभयो ।’

‘यसका साथै दातृ निकायका अनुदान तथा ऋण आयोजनामा नेपाली निर्माण व्यवसायीको संलग्नता, सार्वजनिक खरिद नियमावलीमा देखिएका समस्याहरूका बारेमा पनि उहाँहरूले जानकारी गराउनुभयो’, डा.राणाले भनेकी छिन् ।

‘उहाँहरूका यी समस्याको समाधानका लागि के गर्न सकिन्छ ? प्रयास गर्ने प्रतिबद्धता मैले व्यक्त गरेँ’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।

निर्माण व्यवसायीहरूले काम सम्पन्न गरिसक्दा समेत सरकारबाट भुक्तानी हुन नसक्दा ठूलो समस्यामा छन् ।

निर्माण व्यवसायीहरूले सम्पन्न भएका आयोजनाको भुक्तानी छिटो गरिदिन सहजीकरणका लागि परराष्ट्रमन्त्री डा.राणालाई भेट गरेर आग्रह गरिएको महासंघका अध्यक्ष सिंहले बताए ।

Published : Thursday, 2024 October 24, 6:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया