राप्ती नदीमा डुबेर लमहीका ३ जना बालिकाको मृत्यु

लमही । दाङको देउखुरीस्थित राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।

बिहीबार लमही नगरपालिका वडा नं. २ रनियापुरस्थित नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका वडा नं. २ रनियापुर निवासी १२ वर्षीया झरना चौधरी र १२ वर्षीया निशा चौधरी तथा गढवा गाउँपालिका वडा नं. ४ घर भई हाल लमही नगरपालिका वडा नं. ५ लमही गल्लीमा बस्ने १२ वर्षीया कृष्टि चौधरी रहेको विज्ञप्तिमा उल्लेख छ ।

तीन जना बालिका नदीमा डुबेको अवस्थामा देखेपछि स्थानीयले आफन्तलाई खबर गरी पानीबाट बाहिर निकालेका थिए ।

उनीहरूलाई उपचारका लागि लमही अस्पतालमा ल्याइ चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता ईश्वर थापाले बताएका छन् ।

Published : Thursday, 2024 October 24, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया