कांग्रेसको काठमाडौं महानगरको शुभकामना कार्यक्रममा सभापति देउवा सहभागी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै पर्वका अवसरमा सुख, शान्ति एवं समृद्धिका निम्ति सबैमा शुभकामना व्यक्त गरेका छन् ।

शनिबार नेपाली कांग्रेस काठमाडौं महानगरले बागबजारमा बडादसैँ, शुभदीपावली, नेपाल संवत् एवं छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको कार्यक्रममा देउवाले चाडपर्वले जनतामा भाइचाराको सन्देश दिने बताए । उनले सबै मिलेर पर्व मनाउनुपर्ने पनि बताएका छन् ।

कांग्रेस नेता एवं उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारको १०० दिनका क्रममा लक्ष्य तोकेअनुसारका काम सबै मन्त्रालयले पूरा गरेको बताएका छन् ।

विपक्षीले उठाएका विषय कति सत्य छभन्ने समयक्रमले देखाउने सिंहले बताएका छन् । विधिको शासनको वकालत गर्छु भन्ने दलले नै विधि एवं प्रक्रियाको उपहास गरिरहेको मन्त्री सिंहले बताएका छन् ।

मन्त्री सिंहले शुक्रबार बसेको सत्तारूढ सात दलको बैठकको निर्णयानुसार नै सरकार विधिको शासनको मार्गमा अघि बढ्ने बताए ।

संविधान संशोधन आवश्यकताका आधारमा सबै दलको विचार बुझेर प्रक्रियासम्मत रूपमा हुने मन्त्री सिंहले बताएका छन् ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय, प्रदेश र जिल्ला तहका नेता–कार्यकर्ताका साथै पार्टीका शुभेच्छुक एवं बुद्धिजीवीको समेत उपस्थिति रहेको महानगर समिति सभापति नीलकाजी शाक्यले बताएका छन् ।

Published : Saturday, 2024 October 26, 6:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया