सुनसरी कांग्रेसद्वारा ७ केन्द्रीय सदस्यसहित वडा सभपातिहरूसँग अन्तरक्रिया, अनुशासन र अन्तरघातीलाई कारबाहीको सुझाव

इटहरी । नेपाली कांग्रेस सुनसरीका स्थानीय नेताहरूले पार्टीभित्र अनुशासनका साथै जनप्रतिनिधि र पार्टीबीच समन्वयको आवश्यक्ता रहेको बताएका छन् ।

शनिबार नेपाली कांग्रेस सुनसरीले इनरुवामा राखेको ‘केन्द्रीय नेता तथा पार्टीका वडादखि जिल्ला सभापतिसँग अन्तरक्रिया तथा छलफल’ कार्यक्रमका सहभागीहरूले कांग्रेसलाई बलियो बनाउने हो भने अनुशासन आवश्यक रहेको सुझाव दिएका हुन् । कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाका अनुसार वडा सभापति र पालिका सभापतिहरूले अनुशासन कायम गर्न सक्ने हो भने कांग्रेसलाई कसैले पनि हराउन नसक्ने बताएका छन् ।

सुनसरी कांग्रेसका सभापति केदार भण्डारीको सभापत्विमा भएको कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य एवम् पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार रहेका थिए । गच्छराले वडा, पालिकाका सभापतिहरूबाट आएको सुझाव र धारणलाई सबैले पालना गर्ने बेला आएको बताए । गच्छदारले जनप्रतिनिधि र पार्टीबीच समन्वय गरेर जनताका कुरालाई सम्बोधन गर्न आवश्यक रहेको बताए ।

केन्द्रीय सदस्य खतिवडाले भनिन्, ‘वडा सभापतिहरूले विशेष गरेर अनुशासनको कुरा उठाउनु भएको छ । अन्तरघातीहरूलाई कारबाहीको कुरा गर्नुभएको छ । जनप्रतिनिधि र पार्टीबीचमा समन्वय भएन । समन्वयको अभावलाई पूर्ति गर्नुपर्छ । जनताको कुरा सुन्नु पर्छ भन्ने सुझाव र धारणा आएका छन् ।’

नेतृ खतिवडाले भनिन्, ‘पार्टीमा अन्तरघात गर्नेहरूलाई छुट नदिउँ । टिकट दिनु अगाडि यथेष्ट बिचार विमर्श गरौँ । टिकट रोक्न लागौँ, छेक्न लागौँ, आफूलाई मन परेको मान्छेलाई टिकट दिन लागौँ । तर, टिकट दिइसकेपछि आफूलाई जति मन नपरे पनि मुख नहेरौँ, रुख हेरौँ ।’

उनले भनिन्, ‘पार्टीको विरुद्ध गतिविधि गर्नेहरूलाई निषेध र निश्तेज गरौँ । पार्टीमा जिल्ला कार्यसमितिले एउटा अभियान प्रारम्भ गरेको छ यो अभियानले निरन्तरता पाओस् । जिल्ला कार्यसमिति रणनीति बनाउन लागोस् । हाम्रो साथ सहयोग रहनेछ ।’

कार्यक्रममा केन्द्रीय सदस्यहरू विजयकुमार गच्छदार लक्ष्मी, राजीव, ज्ञानेन्द्रबहादुर कार्की, मीनबहादुर विश्वकर्मा, लक्ष्मी खतिवडा, राजिव ढुङ्गाना, कल्पना चौधरी र राजिव कोइरालाको उपस्थिति रहेको थियो ।

सुनसरी कांग्रेसले जिल्लाका सबै ७ जना केन्द्रीय सदस्यहरूलाई एकसाथ राखेर पहिलो पटक कार्यक्रम गरेको कांग्रेस नेता डा.अबुल हुसेन अन्सारी बताएका छन् । डा.अन्सारीले कार्यक्रमले राम्रो सन्देश दिएको बताएका छन् ।

Published : Saturday, 2024 October 26, 9:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया