सहकारी ठगका अभियुक्त रवि लामिछानेवालाहरूकाे आराेप प्रहरीद्वारा अस्वीकार

काठमाडौं । सहकारी ठगी प्रकरणमा अदालतको आदेशमा पक्राउ पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका क्रममा अदालत लैजाँदा इजलासमा प्रहरीले दुर्व्यवहार गरेको आरोपको प्रहरीले खण्डन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार विज्ञप्ति जारी गरेर हातहतियारसहित इजलासमा प्रवेश गरेकोलगायत आरोपप्रति आपत्ति जनाएको छ ।

प्रहरीले भ्रामक तथा कपोकल्पित विचार टिकटक लगायत सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरुबाट जनमानसमा गलत सूचना सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ’, जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले भनेका छन् ।

कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुरालाई सम्प्रेषण नगरी, सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार, सन्देशमात्र सम्प्रेषण गर्न पनि कास्की प्रहरीले अनुरोध गरेको छ ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा कात्तिक २ गते काठमाडौं पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका हुन् । उनलाई सोही दिन राति पोखरा लगिएपनि शनिबार सार्वजनिक बिदा भएकाले ४ गतेमात्रै अदालतमा उपस्थित गराइएको थियो ।

अदालतले सुरुमा उनलाई पक्राउ परेको दिनदेखि लागू हुने गरी ६ दिनको म्याद दिएको थियो भने दोस्रो पटक अनुसन्धानका लागि थप ७ दिनको म्याद दिएको थियो ।

म्याद थप क्रममा रविको पक्षमा वकालतका लागि केही व्यक्तिले इजलासमै दुर्व्यवहार भएको र अपशब्द प्रयो गरिएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

Published : Sunday, 2024 October 27, 5:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया