शर्मिलाको हत्या गरेर कतार भागेका गजेन्द्रलाई नेपाल ल्याइयो
काठमाडौं । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको दोहाबाट काठमाडौं ल्याएको छ ।
भोजपुर जिल्लाको साविक युँ गाविस–५ ठेगाना भएका गजेन्द्र वान्तवा राई पक्राउ परेको सोमबार प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गजेन्द्र राई वान्तवाले आफ्नी पत्नी शर्मिला तामाङलाई झापामा हत्या गरेर फरार रहेका थिए ।
एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका गजेन्द्र वान्तवा राईलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।
झापाको मेचीनगर नगरपालिका–११ धाईजन बस्ने ४८ वर्षीया शर्मिला तामाङको हत्यामा संलग्न रहेर वारदात पश्चात फरार रहेका थिए ।
शर्मिला तामाङका श्रीमान् गजेन्द्र वान्तावा राईलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ असोज १ गते गजेन्द्र वान्तवा राईविरूद्ध रेड नोटिस जारी भएको थियो ।
गजेन्द्र वान्तवा राईलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय धुलावारी झापाबाट खटिएको प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया