कांग्रेसद्वारा ललितपुरमा बाढीपहिरोबाट मृत्यु भएका ४६ जनाका आफन्तलाई नगद राहत वितरण
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरमा बाढीबपहिरोबाट मृत्यु भएका ४६ जना व्यक्तिका आफन्तलाई जनही २५ हजारका दरले आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
मंगलबार गोदावरी नगरपालिकाको चापागाउँमा नेपाली कांग्रेस ललितपुरले आयोजना गरेको नगद राहत वितरण कार्यक्रममा देउवाले मृतकका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।
सभापति देउवाले बाढीपहिरोमा सहयोग गर्नेहरूको पार्टीमा मूल्यांकन हुने बताए । उनले विपतको बेला सहयोग गर्ने कार्य निकै प्रशंसनीय रहेको बताए ।
असोज ११ र १२ गतेको वर्षाबाट आएको बाढीपहिरोले मृत्यु भएको मृतकका परिवारलाई आर्थिक सहयोगका लागि कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा ललितपुरका ४६ जना मृतकका परिवारलाई जनही २५ हजारका दरले आर्थिक सहयोग गरिएको छ ।
नेता बस्नेतले ललितपुरबाट आर्थिक सहयोग हस्तान्तरण गर्न शुरु भएको भन्दै बाढीपहिरोबाट मृत्यु भएका सबै मृतकका आफन्तलाई जनही २५ हजारका दरले आर्थिक सहयोग गर्ने बताएका छन् ।
राहत वितरण गर्ने कार्यक्रममा कांग्रेस नेता एवम् पूर्वमन्त्री बस्नेत, केन्द्रीय सदस्य तथा सांसद उदयशम्शेर राणा, जीतजंग बस्नेत, केन्द्रीय सदस्य मदनबहादुर अमात्य, ललितपुर कांग्रेसका सभापति जितेन्द्र श्रेष्ठ, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया