सहकारी ठगका अभियुक्त लामिछानेलाई दश दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

मंगलबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सहकारी ठगका अभियुक्त लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न १० दिनको अनुमति दिएको हो ।

सहकारी ठगका अभियुक्त लामिछाने कात्तिक २४ गतेसम्म कास्की प्रहरीको हिरासतमा रहनेछन् ।

सरकारी वकिल कार्यालयले अनुसन्धान बाँकी रहेको भन्दै लामिछानेलाई २५ दिन राखेर अनुसनधान गर्न म्याद थप गर्न माग गरेका थियो ।

न्यायाधीश पौडेलले कात्तिक १५ गतेदेखि गणना हुनेगरी १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

लामिछाने कात्तिक २ गते पक्राउ परेका हुन् । यसअघि दुई पटक म्याद थप गरिसकिएको छ । थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो ।

सूर्यदशन सहकारीको पैसा गोरखा मिडियामा लगेर हिनामिना गरेको आरोपमा लामिछानेविरुद्ध प्रहरीले छानबिन गरिरहेको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिनका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले रुपन्देही लैजाने तयारी गरेको छ ।

Published : Tuesday, 2024 November 5, 5:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया