कांग्रेस र एमालेकाे राम्रो निर्णय, एक-एक महिनामा नेतृत्व लिने, परराष्ट्रमन्त्री डा.राणालाई विशेष जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)ले दुई दलीय संयन्त्र बनाएका छन् । कांग्रेस र एमालेले संयन्त्र बनाएसँगै सरकारले झन् गति लिनेछ ।
काठमाडौंमा बुधबार बसेको संयन्त्रको पहिलो बैठकले संयन्त्रको संयोजन दुई दलले एक/एक महिना पालैपालो गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिअनुसार पहिलो महिना कात्तिक २१ गतेदेखि मंसिर २० गतेसम्म कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गर्ने संयोजन गर्नेछन् ।
बैठकको दोस्रो निर्णयमा चिनियाँ प्रधानमन्त्री ली छियाङको निमन्त्रणमामा प्रधानमन्त्री केपी ओलीले गर्ने चीन भ्रमणको संयोजन प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्री डा.आरजु राणाले गर्ने भनिएको छ ।
दुई नेताको निर्देशन अनुरुप संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजीकरण गर्ने भनिएको छ।
संयुक्त सरकारलाई सफल र प्रभावकारी बनाउन कांग्रेस र एमालेको गत कात्तिक १५ गते बसेको संयुक्त बैठकले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको नेतृत्वमा दुई दलीय राजनीतिक संयन्त्र गठन गरिएको थियो ।
संयन्त्रको कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक र केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा छन् ।
नेकपा (एमाले) बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् ।
त्यसैगरी सातै प्रदेश र जिल्ला तहमा पनि दुईदलीय संयन्त्र बनाउने निर्णय बैठकले गरेको छ ।
०००
नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको दुई दलीय संयन्त्रको सचिवालय
कात्र्तिक २१, २०८१
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस र नेकपा (एमाले) को नेतृत्वमा गठन भएको बर्तमान सयुंक्त सरकारलाई सफल र प्रभावकारी बनाउन नेपाली कांग्रेस र नेकपा (एमाले) को मिति २०८१ कार्तिक १५ गते बसेको सयुंक्त बैठकले नेकपा (एमाले) का अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाको नेतृत्वमा दुई दलीय राजनीतिक संयन्त्र निर्माण गरिएको छ । संयन्त्रको कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट उपसभापति माननीय पूर्णबहादुर खड्का, महामन्त्री माननीय गगनकुमार थापा, केन्द्रीय सदस्य एवं गृहमन्त्री माननीय रमेश लेखक र केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा रहनु भएको छभने नेकपा (एमाले) को तर्फबाट बरिष्ठ उपाध्यक्ष श्री ईश्वर पोखरेल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री माननीय विष्णुप्रसाद पौडेल, महासचिव श्री शंकर पोखरेल र उपमहासचिव श्री विष्णु रिमाल रहनु भएको छ । यसैगरी प्रदेश र जिल्ला तहमा पनि दुई दलीय संयन्त्र बनाउने निर्णय भएको छ ।
हिजो मिति २०८१ कार्तिक २० गते दुइ दलीय संयन्त्रको कार्यदलको पहिलो बैठक बसी देहाय बमोजिमको निर्णय गरेको छ ।
१. कार्यदलको संयोजन दुई दलले एक–एक महिना पालै पालो गर्ने । पहिलो महिना (कार्तिक २१ देखि मंसिर २० सम्म) नेपाली कांग्रेसका उपसभापति श्री पूर्णबहादुर खड्काले कार्यदलको बैठकको संयोजन गर्ने ।
२. चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा हुने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको मित्र राष्ट्र चीनको औपचारिक भ्रमणको तयारीको संयोजन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गर्ने । दुई नेताको निर्देशन अनुरुप संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजिकरण गर्ने ।
केशवराज जोशी
सचिव
फेसबुकबाट तपाईको प्रतिक्रिया