उखुको समर्थन मूल्य ३० प्रतिशतले बृद्धि गर्नुपर्छ : कांग्रेस सांसद चौधरी
काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग आग्रह गरेका छन् ।
सिंहदरबारमा बुधबार कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीसँगको भेटमा चौधरीले उखुको समर्थन मूल्य तोक्न बिलम्ब भएकोमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद चौधरीले सरकारले उखुको मूल्य नतोक्दा किसानमा मारमा परेको बताएका छन् ।
‘उखु काट्ने सिजन भइसकेको छ । अहिलेसम्म सरकारले समर्थन मूल्य तोकेको छैन’,चौधरीले भने, ‘किसानहरू मर्कामा परिरहेका छन् ।’
कृषिमन्त्री अधिकारीसँगको भेटमा सहभागी लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवार सन्तुले पनि उखु किसानको माग समयमा सम्बोधन हुनुपर्ने बताए ।
यसअघि, कांग्रेसका सांसद चौधरीले अर्थमन्त्री विष्णु पौडेललाई पनि भेट गरेर उखुको समर्थन मूल्य कम्तिमा ३० प्रतिशतले बृद्धि गर्न आग्रह गरेका छन् ।
सांसद चौधरीले किसानलाई समयमा रासायनिक मलको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।
समयमा मल खरिद गर्न समस्या हुन नदिन जीटुजी मार्फत् खरिद गर्न चौधरीले कृषिमन्त्री अधिकारीलाई सुझाव दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया