महिला क्रिकेटमा नेपालसँग कुवेत फराकिलो अन्तरले पराजित

काठमाडौं । नेपालले कुवेतलाई आइसीसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा ठूलो रन अन्तरले पराजित गरेको छ ।

बिहीबार युएईको अजमानस्थित द सेभेन क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो ।

लक्ष्य पछ्याउन मैदानमा उत्रिएको कुवेतका कप्तान जिफा जिलानीले मात्रै टिमका लागि दोहोरो अंकमा रन जोड्न सकिन् । उनी १२ रनमा आउट भएकी थिइन् । कुवेतका ६ खेलाडी शून्य रनमा आउट भएका थिए ।

नेपालका सीमा केसी र रचना चौधरीले समान २–२ विकेट लिएका थिए । नेपाली कप्तान पूजा महतो, कृष्मा गुरुङ र मनिषा उपाध्यायले समान १–१ विकेट लिएका थिए ।

ब्याटिङका क्रममा नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन बनाएकी थिइन् । उनले ३८ बलमा चार चौका प्रहार गर्दै सर्वाधिक ३४ रन बनाएकी हुन् । साना प्रवीणले १८ बलमा २५ रन बनाइन् । उनले सो क्रममा पाँच चौका प्रहार गरेकी थिइन् ।

ज्योत्सिन्का मरासिनीले १८ बलमा एक चौकाको मद्दतले २३ रन बनाइन् । नेपालका लागि सावित्री धामी र सोनी पाख्रिनले समान छ÷छ रन बनाए भने सीमा केसीले चार रन बनाइन् । कृश्मा गुरुङले एक रनको योगदान दिइन् भने रचनाकुमारी चौधरी र रिया शर्माले भने एक रन पनि जोड्न सकेनन् ।

कुवेतका लागि आयशा इकबाल पेवेकरले दुई विकेट लिएकी थिइन् । जिफा जिलानी र अमिषाराम ओलाचेरीले समान एक÷एक विकेट लिएका थिए ।

छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।

Published : Thursday, 2024 November 7, 7:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया