विदेशी हवाई कम्पनीहरूले अस्वाभाविक रुपमा भाडा बृद्धि गर्नु हुँदैन : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मर्मतका लागि विमानस्थल सञ्चालनको समय कटौती गरेपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आग्रह गरेकी छिन् ।

शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा श्रममन्त्री शरतसिंह भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहितको बैठकमा मन्त्री डा.राणाले उनीहरूलाई विकसित पछिल्लो परिस्थितिको अध्ययन गरी आवश्यक निकासका लागि सुझाव दिएकी छिन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका प्रतिनिधिहरूले विमानस्थलकाे समस्याको समाधानका लागि आग्रह गर्दै मन्त्री डा. राणालाई ज्ञापनपत्र बुझएका पनि छन् । उहीहरूले विमानस्थलले उडान समयमा गरेको कटौतीको कारण देखाएर हवाई कम्पनीहरूले दोब्बरभन्दा बढी भाडा वृद्धि गरेका र यसका कारण नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मारमा परेकाे बताएका छन् ।

परराष्ट्रमन्त्री डा.राणाले भनिन्, “वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई महङ्गो टिकटका कारण समस्या परेको त छँदैछ, यो मारमा अरु पनि परेकाले धेरै गुनासो आएको छ । हवाई कम्पनीहरुले यदि एकाधिकार गरेका छन् भने उनीहरुलाई नियमन गरी आवश्यक प्रक्रियाभित्र ल्याउनुपर्दछ ।”

नेपालबाट टिकट नपाउने तथा धेरै नै महङ्गो हुने समस्या भएकाले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई केही समयका लागि भारतको विमानस्थल हुँदै जानुपर्ने अवस्थाका लागि कूटनीतिक पहल गरिदिन संघका अध्यक्ष राजेन्द्र भण्डारी, पूर्वअध्यक्ष विमल ढकाल लगायतले परराष्ट्रमन्त्री डा.राणसँग आग्रह गरेेका छन् ।

पूर्वअध्यक्ष ढकालले अन्तर्राष्ट्रिय विमानस्थलकाे विकल्पका रुपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई सञ्चालनमा ल्याउन मन्त्री डा.राणासँग आग्रह गरेका छन् । उनले भैरहवा विमानस्थल सञ्चालन हुँदा धेरै सहज हुने बताए ।

परराष्ट्रमन्त्री डा.राणाले त्यस्तो अवस्था आएमा आफूले कूटनीतिक पहल गर्ने आश्वासन पनि दिएकी छिन् । उनले विमानस्थल मर्मत गरिने सूचना नेपालले छ महिना अघिदेखि नै दिएकाले अहिले आएर विदेशी हवाई कम्पनीहरूले अस्वाभाविक रुपमा भाडा बृद्धि गर्न नहुने बताएकी छिन् ।

Published : Friday, 2024 November 8, 5:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया