सहकारी प्रकरण होस् कि मानव तस्करी, सत्ताको नजिकको होस् कि टाढा, जो भए पनि अनुसन्धान हुनुपर्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानून विपरीत काम गर्ने जोसुकै पनि अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमनर्फत् थापाले सहकारी प्रकरण होस् कि मानव तस्करी यस्ता प्रकरणमा सत्ताको नजिकको होस् कि टाढा जो भए पनि अनुसन्धान हुनुपर्ने बताएका हुन् ।
उनले भने, ‘सहकारी प्रकरण होस् कि जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस् कि टाढाको होस्, नयाँ होस् कि पुरानो होस्, भिडको होस् कि टाकुराको होस्, एक्लो होस् कि शक्तिशाली होस् कानून सबैको लागि बराबर हुनुपर्छ ।’
‘यो विचार, आवद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होइन, विधिको विषय हो। म यो मान्यतामा अटल विश्वास गर्छु। त्यसैले बन्द कोठाको बैठकमा होस कि सार्वजनिक स्थानमा होस, पार्टी सरकार मा हुँदा होस कि प्रतिपक्षमा हुँदा होस मेरो यो मान्यता र विश्वास बदलिँदैन’, महामन्त्री थापाले भने ।
सहकारी ठगी प्रकरणमा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने २ कात्तिकदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
एमालेका नेता तथा कोशी सरकारका तत्कालीन आन्तरिक मामिलामन्त्री लीलाबल्लभ अधिकारी पनि मानव तस्करी प्रकरणमा जोडिएका छन् । अधिकारीलाई एमालेले निलम्बन गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया