एमालेले भारत-चीन दुवै छिमेकी देशसँग सन्तुलित सम्बन्ध कायम गर्ने, ओलीकाे चीन भ्रमण केन्द्रित परामर्श

काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले दुवै छिमेकी देशहरूसँग सन्तुलित सम्बन्ध कायम गर्न आवश्यक रहेको बताएका छन् ।

शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा बद्लिँदो भूराजनीति र अन्तर्राष्ट्रिय कुटनीतिमा विकसित घटनाक्रमहरूबारे छलफल गर्दै ओलीले भारत र चीन दुवै छिमेकी देशहरूप्रति असल, सन्तुलित र राष्ट्रिय हितमा केन्द्रित परराष्ट्र सम्बन्ध कायम गरेर अघि बढ्नु अहिलेको आवश्यकता भएको बताए ।

बैठकमा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका विषयमा छलफल केन्द्रित भएको थियो । उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले दुई छिमेकीसँगको सन्तुलित सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिएको बताए ।

`अहिलेको अन्तर्राष्ट्रिय परिस्थितिलाई नियालेर हामीले राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुवै छिमेकीसँग असल, सन्तुलित र राष्ट्रिय हितमाथि आधारित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौँ´, ज्ञवालीले भने ।

`अब प्रधानमन्त्रीज्यू चीन भ्रमणमा जाँदै हुनुहुन्छ । आजको बैठकले प्रधानमन्त्रीको उक्त भ्रमण अधिकतम राष्ट्रिय हितमा उपयोग गर्नका लागि समेत सरकारलाई आग्रह गरिएको छु´, ज्ञवालीले भने ।

उपमहासचिव ज्ञवालीका अनुसार बैठकले सरकारको चार महिने कार्यकालको समीक्षा गरेको छ भने सत्तारुढ दलहरूबीच थप विश्वासको बातावरण बनाउँदै अघि बढ्नुपर्ने निर्णय गरेको छ ।

Published : Saturday, 2024 November 9, 6:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया