सभापति देउवाद्वारा परशुराम धामको दर्शन, डडेल्धुरामा के-के छन् कार्यक्रम ?
डडेल्धुरा । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा महाकाली गृहजिल्ला डडेल्धुरामा रहेको परशुराम धामको दर्शन गरेका छन् ।
सोमबार पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले परशुराम धाममा दर्शन गरेका हुन् । रंगुन नदीमा अधुरो रहेको तटबन्ध निर्माण, परशुराम नगरपालिका वडा नं. ६ र १२ जोड्ने रंगुन नदी र सलुन–शीर्ष–रुपाल जोड्ने सडक खण्डमा पनि पक्की पुल निर्माण, सडक बाटोको स्तरोन्नति र कालोपत्रे गरिने सभापति देउवाले बताएका छन् ।
बुडरबाट सोमबार बिहान चुरे र महाभारत पर्वतको संगमस्थलमा अवस्थित प्राकृतिक आलितालको अवलोकन पछि महाकाली नदी किनारको परशुराम धाम पुगेर बाबा परशुरामको दर्शन गरेको नेपाली कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदले बताए ।
सभापति देउवाले नेपालका चार वटा धाममध्येको एक परशुराम धामको विकासका लागि सधैँ लागि परेको बताएका छन् ।
उनले डडेलधुरा प्राकृतिक रूपमा रमणीय जिल्ला भएको र थुप्रै धार्मिक स्थल, शक्तिपिठ भएको जिल्ला पनि भएकाले धार्मिक पूर्वाधारहरूको विकास गरेर धार्मिक क्षेत्रको विकास गर्ने बताएका छन् ।
देउवाले परशुराम धामको विकासका लागि गुरु योजना बनाई केही वर्ष यता राम्रो बजेट विनियोजन भएर बाबा परशुरामको मूर्ति निर्माणसँगै मन्दिरहरू, धर्मशाला, सडक बाटोलगायतका पूर्वाधारहरू निर्माण भएकाले दशर्नार्थीहरुलाई सहज हुँदै गएको बताएका छन् ।
परशुराम धामलाई पारितर्फ रहेको भारतको माँ पूर्णागिरिको मन्दिरसँग जोड्न धाम नजिकै भारत सरकारे पक्की मोटरेवल पुल निर्माणको काम अघि बढाएको सभापति देउवाले बताए ।
उनले लाढुंगा बजारमा रहेको जोगबुडा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बताए । ५० शय्याको अस्पतालमा स्तरोन्नति भइरहेको जोगबुडा अस्पताललाई प्रादेशिक अस्पतालमा गाभेर पूर्वाधारसहित विशेषज्ञ सेवा सञ्चालन गरिने देउवाले बताएका छन् ।
सभापति देउवा मंगलबार बडालको लाटा गन्याप देवताको पूजाआजा जाँत (मेला) मा सरिक हुने छन् । बडाल जाँत दाइन दमाहा, भोकर, रुईसिँग बाजाको धुनमा हातमा नाङ्गो तलवार खेलाउँदै खेलिने छाला (नाच) चौलोले प्रसिद्ध छ । बडाल सभापति देउवाको घर रहेको पालिका गन्यापधुरा गाउँपालिका–२ मा पर्छ ।
बुधबार कात्तिक २८ गते कांग्रेस डडेलधुरा कार्यसमितिको बैठक, २९ गते भेटघाट, ३० गते जन्मथलो गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा र मंसिर १ गते उग्रतारा मेला (देहिजाँत) जाने कार्यक्रम तय भएको छ । सभापति देउवा मंसिर २ गते काठमाडौं फर्किने कार्यक्रम छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया