कांग्रेस उपसभापति गुरुङले दिए सीआईबीमा बयान, लामिछानेले जस्तो बबाल गरेनन्
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवम् पूर्वमन्त्री धनराज गुरूङले पूर्वपत्नी ज्याति गुरुङले सहकारीको रकम अपचलन गरेको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा बयान दिएका छन् ।
बुधबार उपसभापति गुरुङले ब्यूरोको कार्यालय महाराजगञ्ज गएर लिखित रुपमा बयान दिएका हुन् । गुरुङले सीआईबीलाई अनुसन्धानमा सहयोग गर्न बयान दिएको बताएका छन् ।
गुरुङले सहकारीको पैसा हिनामिनामा आफ्नो संलग्नता नभएको बताएका छन् । सीआईबीले सहकारी ठगीसम्बन्धी आएका विभिन्न प्रश्न तथा आशंकाहरूमा गुरुङसँग कागज गराएको छ ।
मितेरी सहकारीको १४ करोड हिनामिनाको आरोप लागेका गुरुङले आफूले सहकारीबाट ऋण नलिएको बताएका छन् । पूर्व पत्नीको हैसियतको ज्योति गुरुङले लिएको ऋणको किस्ता तिरिदिएको गुरुङले बताएका छन् ।
सीआइबीका प्रमुख (एआईजी) दीपक थापाले बयानका क्रममा धनराज गुरुङले पूर्वपत्नी ज्योति गुरुङसँग डिर्भोस गर्नेक्रममा सहकारीको ऋण तिरिदिने र यसबापत ज्योतिले कुनै अंश दाबी नगर्ने सहमति भएको बयान दिएको बताएका छन् ।
सहकारीकै ऋण तिर्नका लागि आफूले धैरैतिर पैसा माग्न परेको र ऋण खोज्न परेको गुरुङले बताएका छन् ।
पटक–पटक गरी ऋण र व्याजसमेत गरेर ८४ लाख सहकारीलाई तिरेको गुरुङले बताएका छन् । बयानका क्रममा आएका विषय र तथ्यलाई भेरिफाइ गरेर पुनः अर्कोपटक पनि बयान लिन सकिने एआईजी थापाले बताएका छन् ।
पूर्वमन्त्री गुरुङको हकमा कुनै पनि उजुरी प्रहरीमा दर्ता भएको छैन । गुरुङकी पूर्वपत्नी ज्योति गुरुङविरुद्ध भने मितेरी सहकारीको १४ करोड ८१ लाख अपचलन र हिनामिना गरेको आरोप छ । सहकारीको महाप्रबन्धक रहेका बेला ज्योतिले रकम अपचलन गरेको आरोप छ ।
सीआईबीका प्रवक्ता (एसपी) होबिन्द्र बोगटीले पूर्वमन्त्री एवम् कांग्रेसका उपसभापति धनराज गुरुङसँग सहकारी प्रकरणमा बयान लिएको बताएका छन् ।
सहकारी व्यवस्थापक रहेकी ज्योति गुरुङविरूद्ध रेड कर्नर नोटिस जारी भइसकेको छ । ज्योतिले सहकारीको १४ करोड ८१ लाख रुपियाँ बचत अपचलन गरेको आरोप छ ।
सहकारीको करोडौं रकम ठगी र अपचलन गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेले अनुसन्धानमा असहयोग गरिरहेका बेला कांग्रेसका उपसभापति गुरुङ सीआईबीमा पुगेर बयान दिएका छन् । बयान दिएर गुरुङले सीआईबीलाई अनुसन्धानमा सहयोग गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया