मन्त्री र महानिर्देशकका कारण हवाई क्षेत्र अस्तव्यस्त, टिकटमा कालाेबजारी, घोटालामा परेका मन्त्री फाल्ने तयारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे विभिन्न घोटाला र काण्डहरूमा परेको भनेर आफ्नै पार्टीका सांसदले आरोप लगाइरहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थल मर्मतको बहानामा राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरू अस्तव्यस्त बनाएका छन् ।

मन्त्री पाण्डेलाई महानिर्देशक अधिकारीले टेर्दैनन् । टेरुन् पनि कसरी ? मन्त्री पाण्डे र महानिर्देशक अधिकारीबीच स्वार्थ मिलेपछि आफ्नो कर्मचारीले टेर्ने कुरै आउँदैन । मन्त्री पाण्डेको कमजोरी थाहा पाएपछि महानिर्देशक अधिकारीले टेर्ने कुरै आउँदैन । मन्त्री पाण्डेले लोभ र लालच नगरेको भए महानिर्देशक अधिकारी डराएर काम गर्थे ।

मन्त्री पाण्डे क्यासिनो नवीकरण घोटालामा परेको भनेर नेपाली कांग्रेसको प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाईंले लगाएका छन् । सांसद बजगाईं पर्यटन तथा होटल व्यवसायी हुन् । बजगाईंको लगानी क्यासिनामो पनि छ ।

महानिर्देशक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतको बहानामा १० घण्टा बन्द गर्ने निर्णयसँगै अन्तर्राष्ट्रिय उडानका टिकटहरूको मूल्य वृद्धि भएका छन् । महानिर्देशक अधिकारीका कारण राज्यलाई ठूलो आर्थिक क्षति भइरहेको छ । विमानस्थल मर्मत गर्नु हुँदैन कसैले भनेको छैन । मर्मत गर्दा सबै कुराको भाँत पुर्‍याएर, व्यवस्थापन गर्नुपर्छ ।

महानिर्देशक अधिकारीको गतिविधि र हर्कतलाई मन्त्री अधिकारीले नियन्त्रण गर्न सकेका छैनन् । कतिसम्म भने पाण्डेलाई मन्त्रीबाट फाल्छु भनेर महानिर्देशक अधिकारी बरबराउन थालेको स्रोतको भनाइ छ । मन्त्री पाण्डेको कानमा महानिर्देशक अधिकारीले आफूलाई फाल्न लागेको भनेर कुरा सुनाइदिइसकेका छन् । मन्त्री पाण्डे निरिह बनेर महानिर्देशक अधिकारीको ‘आदेश’ मानेर बस्नुभन्दा अरु कुनै बिकल्प छैन । मन्त्रीले महानिर्देशकलाई आदेश र निर्देशन दिने हो । तर, पर्यटन मन्त्रालयमा मन्त्रीलाई महानिर्देशकले आदेश दिने गरेको भनेर चर्चा छ ।

हवाई उडान अस्तव्यस्त हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेय रमिता हेरेर बसेका छन् । सचिव पाण्डेले मन्त्री र महानिर्देशक अधिकारीको टसलमा खेलेर शुभलाभतिर लागेको आरोप कर्मचारीहरूले लगाएका छन् । सचिव पाण्डेलाई मन्त्रालयबाट हटाएर काम गर्न सक्ने क्षमता भएको सचिव ल्याउन कर्मचारीहरूले माग गरेका छन् । राज्यलाई हुने आर्थिक र भौतिक क्षतिमा पनि सचिव पाण्डेको योगदान रहेको भनेर आलोचना भइरहेका छन् ।

महानिर्देशक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द गरेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा सञ्चालन गर्न खोजेका छन् । भैरहवा विमानस्थल सञ्चालन गर्नुपर्छ । तर, महानिर्देशक अधिकारीले भारतसँग अनुमति नै नलिएर जसरी चोरबाटोबाट एयरलाइन्सहरूलाई ठूलो आर्थिक क्षति हुने गरेर गतिविधिहरू गरिरहेका छन् त्यो कसैलाई पनि मन परेको छैन । केही समयका लागि महानिर्देशकले चोरबाटोबाट भैरहवामा अन्तर्राष्ट्रिय उडान गराउलान् । यो दीर्घकालीन समाधान होइन । महानिर्देशक अधिकारीलाई पनि यो कुरा राम्रोसँग थाहा छ ।

भैरहवा विमानस्थल बिहानको समयमा हुस्सुले गर्दा सञ्चालन गर्न गाह्रो हुन्छ । करोडौं खर्च गरेर खरिद गरिएको आई.एफ.आर. पनि सञ्चालन नहुँदा बिदेशी र ठूला जहाजले जोखिम लिएर उडान गर्न मान्दैनन् भनेर प्राधिकरणका एक उच्च कर्मचारीले बताएका छन् ।

भैरहवा विमानस्थल भारतले स्वीकृति नदिएका कारण आई.एफ.आर. नचलाएको भनेर टारे पनि कमसल खालको मेसिन ल्याएर बहाना बनाएको हल्ला भैरहवा विमानस्थलमा कर्मचारीहरूले गरेका छन् । आई.एफ.आर. खरिदमा पनि कमिशनको खेल भएको हुन सक्ने भन्दै तल्लोस्तरका कर्मचारीहरूले छानविनको माग गरेका छन् ।

नेपाल आउने जहाज सिमराबाट छिरेर भैरहवा गएर फेरि काठमाडौं आएर पश्चिमबाटै नेपाल छोड्न पर्दा निक्कै महँगो परेको छ ।

महानिर्देशक अधिकारीले शनिबार कतार एयरवेजलाई पेलेर हिमालय एयरलाई काखी च्याप्दा विदेशी विमान कम्पनीहरू रिसाएका छन् । हिमालय एयरलाइन्स किन भैरहवा जान नपर्ने भन्ने प्रश्न आएको छ । महानिर्देशक अधिकारीले हिमालय एयरलाइन्सलाई काखी च्याप्दै आएका छन् । महानिर्देशक अधिकारीले भैरहवा उडान भर्न हिमालय एयरलाइन्सलाई दवाव नदिनु पनि रहस्यको विषय बनेको छ ।

विमानस्थल मर्मतको बहानामा १० घण्टा बन्द भएको प्रकरणमा मन्त्री पाण्डेलाई विवादमा पारेर फाल्ने योजना महानिर्देशक अधिकारीकै हो भनेर चर्चा पनि छ । क्यासिनोको घुसकाण्ड पनि महानिर्देशक अधिकारीकै योजनामा सञ्चारमाध्यममा बाहिर आएको हल्ला पनि छ ।

हुन त महानिर्देशक अधिकारीले आफू निकटका व्यक्तिहरूसँग ‘यो मन्त्री मात्तिन थाल्यो, अब कट्टु फेरे जस्तो फेर्ने बेला आयो । मलाई हटाउन खोजे अदालतबाट फिर्ता आउने’ भन्ने गरेको प्राधिकरणभित्र चर्चा छ ।

Published : Thursday, 2024 November 14, 9:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया