दुवै पार्टीका कार्यकर्ताबीच सहकार्यका लागि संयन्त्र बनायौं : परराष्ट्रमन्त्री डा.राणा

धनगढी । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले दुई ठूला र प्रतिस्पर्धी पार्टीको सरकार भएकाले दुवै पार्टीका नेता कार्यकर्ताबीच तल्लो तहदेखि नै समझदारी एवं सहकार्यका लागि संयन्त्र बनाइएको बताएकी छिन् ।

शुक्रबार धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भनिन्, ‘देशमा स्थायी सरकार बनाएर लग्ने भन्ने नेताहरूको योजनालाई साकार पार्न पनि यस्तो संयन्त्र बनाइएको हो ।’

परराष्ट्रमन्त्री डा.राणाले प्रधानमन्त्री केपी ओलीको चीनमा हुन लागेको भ्रमणका लागि परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको बताएकी छिन् । उनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा हुने छलफलका एजेण्डा चिनियाँ पक्षले पठाउन लागेको बताइन् ।

‘नेपाल सरकारका मन्त्रालयहरूले चीनसँग कुन–कुन विषयमा सहकार्य र सम्झौता भएको छ, यी सम्झौताको स्थिति के हो ? भनेर २७ गते अपडेट गर्ने काम भएको छ, परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ, केही दिनमै प्रधानमन्त्रीसहित बसेर चीन भ्रमणका क्रममा कुन–कुन कुरालाई अगाडि बढाउने भनेर निर्णय गर्नेछौँ’, उनले भनिन् ।

डा.राणाले नेपालको दुईवटा छिमेकी देश भारत र चीनसँग परापूर्वकालदेखि नै घनिष्ठ सम्बन्ध रहेको बताएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणा गृहजिल्ला डडेलधुराको उग्रतारालगायत मन्दिरमा लाग्ने मेलामा सहभागी हुने कार्यक्रम छ । पूर्व प्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवा केही दिनदेखि डडेलधुरा आइसकेका छन् ।

देउवा परिवारको कूलपूजा पनि रहेको छ । कूलपूजा समापनि र जिल्लाका नेता कार्यकर्तासँगको भेटपछि सभापति देउवा र परराष्ट्रमन्त्री डा.राणा काठमाडौं फर्किने कार्यक्रम छ ।

Published : Friday, 2024 November 15, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया