उपाध्यक्षमा एमालेकी केशकुमारीद्वारा कांग्रेसको चुनाव चिन्ह लिएर उम्मेदवारी दर्ता
रुकुम पश्चिम । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दर्ता भएको छ ।
आइतबार उम्मेदवारी दर्ता भएको हो । पुथाउत्तरगंगा गाउँपालिका वडा नं. २ को वडाध्यक्षका लागि पनि उम्मेदवारी दर्ता भएको छ ।
रुकुम पश्चिममा सानीभेरी गाउँपालिका–५ मा वडाध्यक्षका लागि पनि उम्मेदवारी दर्ता भएको छ ।
पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसका तर्फबाट केशकुमारी तुलाचनले उम्मेदवारी दिएकी छिन् ।
नेकपा (माओवादी केन्द्र)का तर्फबाट नरपुरा बुढा र नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सुनिता बुढा मगरले उम्मेदवारी दर्ता गराएकी छिन् ।
स्वतन्त्रबाट कोपिला पुन बुढा, मोहोनभक्त बुढा, भीमकुमारी पुन र सूर्यदेवी सुनारले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी केशकुमारी तुलाचन एमालेकी नेतृ हुन् । एमाले र कांग्रेसको चुनावी तालमेल हुने भएपछि केशकुमारी तुलाचनले कांग्रेसको चुनाव चिन्ह लिएर उम्मेदवारी दर्ता गरेको रुकुम पूर्वका एमाले अध्यक्ष लिलामणि गौतमले बताएका छन् ।
वडा नं. २ को अध्यक्षका लागि माओवादी केन्द्रका तर्फबाट जनक घर्ती, एमालेका तर्फबाट जीवन रोका र स्वतन्त्रका तर्फबाट शुक्रराज विकले उम्मेदवारी दिएका छन् ।
सानीभेरी गाउँपालिका–५ मा वडाध्यक्षका लागि कांग्रेसबाट मोतीराम खत्री, माओवादीबाट जसिराम वस्नेत, नेकपा (एकीकृत समाजवादी)बाट हंसराज पुरी तथा स्वतन्त्र वीरबहादुर वस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया