भारतीय स्थल सेनाध्यक्ष द्विवेदी काठमाडौंमा, मानार्थ महारथीको सम्मान प्रदान गरिने

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।

बुधबार द्विवेदी पाँच दिने भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेको नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पाँच सदस्यीय भ्रमणदलमा द्विवेदीकी धर्मपत्नी तथा भारतीय सेनाको सेना पत्नी कल्याण संघकी अध्यक्ष श्रीमती सुनिता द्विवेदी पनि सहभागी रहेकी छिन् ।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले स्वागत गरेका छन् ।

भ्रमणको क्रममा जनरल द्विवेदीलाई मंसिर ६ गते राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरूको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमार्फत जनाइएको छ ।

Published : Wednesday, 2024 November 20, 6:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया