काम गर्ने व्यवहार र मानसिकतामा परिवर्तन गर्नुस् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न निर्देशन दिएका छन् ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धित निकायको प्रस्तुतिकरण सुनेपछि ओलीले काम गर्ने व्यवहार र मानसिकतामा परिवर्तन गर्न निर्देशन दिएका हुन् ।

उनले देश विकास गर्ने प्रतिबद्धताका साथ लागेर स्वच्छ र पारदर्शीरुपमा काम गर्न आग्रह गरेका छन् । सुशासन कायम, राजस्व चुहावट नियन्त्रण, गरिबी निवारण, मुलुकको छवि अन्तर्राष्ट्रियस्तरमा अभिवृद्धि र साधन स्रोतको उपयोग बढाउने गरी काम गर्न स्पष्ट ओलीले निर्देशन दिए ।

उनले भने, ‘भोलिदेखि नै परिवर्तन आउने गरी काम गर्नुस् । बैठकहरूको औचित्य सिद्ध गर्नुस् । अर्काे बैठकमा आउँदा यो यो परिवर्तन भयो भन्ने लिएर आउनुस् ।’

‘सुशासन र विकासमा कुनै कानूनले व्यवधान खडा गरेको छभने सरकार छिटो बाटोबाट कानूनको संशोधन गर्न पनि तयार छ ।’

‘हाम्रो सम्पूर्ण प्रयास उत्पादन वृद्धिमा हुनुपर्छ । हाम्रो स्रोत साधन जति छन्, तिनीहरूको वैज्ञानिक ढङ्गले उपयोग गर्नुपर्छ’, ओलीले भने, ‘सूचना र प्रविधिको प्रयोग गरी विकासको गतिलाई तीव्रता दिनुपर्छ ।’

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, आर्थिक मामिला सल्लाहकार डा.युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल र सचिवहरू, मातहतका कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2024 November 21, 7:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया