गोरखाका थापाको चकित पार्ने धन्दा, बबरमहलबाट पक्राउ

काठमाडौं । ठगी सम्बन्धी कसूरमा फरार रहेका प्रतिवादी गोपाल थापालाई प्रहरीले पक्राउ गरेको छ ।

गोरखाको शहीदलखन गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं.२ बस्ने थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

जाहेरवाला काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं. २ बाडभञ्ज्याङको कित्ता नं. २४४ को क्षेत्रफल ०–५–२–२ र कि.नं. ४९९ को क्षेत्रफल ०–२–१–० को जग्गा नबिल बैंकको खातामा ९५ लाख जम्मा गरिदिएको छु भनेर थापाले ठगी गरेको प्रहरीले जनाएको छ ।

रकम जम्मा गरेको पैसा नभएको डिपोजिट स्लिप समेत देखाई थापाले जग्गा राजीनामा पास गरी ठगी गरी फरार रहेका थिए ।

थापाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा मंसिर ५ गते साढे ५ बजे काठमाडौंको बबरमहलबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका थापालाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

Published : Thursday, 2024 November 21, 7:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया