कांग्रेसद्वारा आर्थिक अवस्था सुधारका उपायबारे विज्ञहरूसँग छलफल, बीआरआई परियोजनाहरूमा ऋण नलिने
काठमाडौं । नेपाली कांग्रेसले ‘नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे’ पूर्वअर्थमन्त्री, पूर्वअर्थराज्यमन्त्री, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष लगायतसँग छलफल गरेको छ ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सभापति शेरबहादुर देउवासहितका नेताहरूले नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर, उद्योग वाणिज्य महासंघ, चेम्बर अर्फ कमर्श, उद्योग परिसंघ, निर्माण व्यवसायी र अर्थ विज्ञहरूसँग छलफल भएको कांग्रेसले जनाएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का, प्रतिनिधि सभा र राष्ट्रिय सभाका प्रमुख सचेतक र सचेतक, कांग्रेसका सांसद एवम् उद्योगी व्यवसायी विनोदकुमार चौधरी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्राप्त सुझावहरूलाई नेपाली कांग्रेस संसदीय दलको आगामी बैठकबाट पारित गरी कार्यान्वयनका लागि नेपाल सरकारलाई सुझावसहित अनुरोध गर्ने विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, नेपाली कांग्रेसले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनाहरू ऋणमा लिन नहुने जनाएको छ ।
शुक्रबार कांग्रेसले आयोजना गरेको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे छलफलमा चीनको बीआरआई अन्तर्गतका परियोजना लिने तर ऋणमा भने लिन नसकिने जनाएको छ ।
छलफलपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बीआरआईको समझदारी पत्रमा आफैँले हस्ताक्षर गरेको बताउँदै समझदारीमा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगका कुराहरू उल्लेख भए पनि अहिलेसम्म कार्यान्वयन नभएको बताए ।
डा.महतले नेपाललाई अहिले ऋणको भार धेरै रहेको भन्दै अब ऋण कुनै पनि मुलुकसँग थप्न नहुने कांग्रेसको धारणा रहेको बताएका छन् ।
प्रवक्ता डा.महतले अनुदान नै कार्यान्वयन नभएको अवस्थामा ऋणको कुरा गरेर के अर्थ ? भन्दै चिनियाँ सरकारसँग मात्रै होइन, जुनसुकै सरकारसँग पनि अहिले ऋण लिने कुरामा जान नहुने बताए ।
मंसिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा बीआरआई कार्यान्वयनको सम्झौता गर्ने तयारी गरे पनि अर्को सत्तारुढ दल नेपाली कांग्रेस तयार नहुँदा यो विषयले सत्तारुढ दलहरुबीच विवाद देखिएको छ ।
यो विषयलाई समाधान गर्न र स्पष्ट खाका तयार गर्न कांग्रेस र एमालेले गगन थापा र डा.युवराज खतिवडालाई जिम्मेवारी दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया