जन्मथलोको चौतारोमा सभापति देउवाको त्यो क्षण
गन्यापधुरा । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यस पटक झण्डै एकसाता गृहजिल्ला डडेल्धुरामा बिताएर काठमाडौं फर्किएका छन् ।
राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका देउवाले डडेल्धुरामा मसिनो गरेर भेटघाट गर्नुका साथै परिवारभित्रका सदस्यहरूसँग पनि भलाकुसारी गरेका छन् । भेटघाट गर्न रमाइलो मान्ने देउवाले ६ दिनसम्म डडेल्धुरामा बसेर जन्मथलो जानुका साथै कुलपूजा र चौतारोमा बसेर आफन्तहरूसँग सञ्चोबिसञ्चोको सोधेर विताएका छन् । चौतारामा भेटिएका आफन्त र शुभेच्छुकहरूसँग उनले निकै अन्तरंग कुराहरू पनि गरेका छन् ।
सभापति देउवालाई डडेल्धुरामा चुनावी अभियान बाहेक अरु बेला आउँदैनन् भनेर शुभेच्छुकहरूले गुनासो गरिरहेका बेला देउवा ६ दिन बसेर काठमाडौं फर्किएका हुन् । देउवाले यसपटक मसिनो गरेर भेटघाटहरू गरेका छन् ।
२०४८ सालपछि देउवाले यस पटक डडेलधुरामा सबैभन्दा लामो समय बिताएको चर्चा छ । कात्तिक अन्तिम साता काठमाडौंबाट धनगढी हुँदै देउवा डडेल्धुरा पुगेका हुन् । भलाकुसारी मात्रै गरेनन् देउवा कुलपूजादेखि विभिन्न ठाउँका मन्दिरमा आयोजित पूजाआजा (जाँत)मा पनि सामेल भएका छन् ।
जन्मथलो गन्यापधुरा–१ रुवाखोला पुगेर दुई घण्टा नातागोता, आफन्त र छिमेकीसँग सभापति देउवाले बिताएका छन् । कमै बोल्ने स्वभावका देउवा गाउँको चौतारामा बसेर छिमेकी पाका, तन्नेरी र बालबालिका सबैसँग गफिएका थिए । देउवा कुलदेवता ‘असिउ’को पूजामा पनि सामेल भए ।
देउवासँगै चौतारामा बसेका गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले सभापति देउवाले एक÷एक गरी गाउँका सबै दाजुभाइलाई भेटेर सन्चोबिसन्चो सोधपुछ गरेको बताए । अध्यक्ष कार्कीका अनुसार २३ वर्षपछि कुलदेवताको पूजामा सहभागी हुन पुगेका देउवाले कुलदेवताको मन्दिरमा महायज्ञ लगाउने प्रसंग पनि झिकेका थिए ।
कुलपूजासँगै देउवा सुदूरपश्चिमको प्रसिद्ध बडाल जाँत र उग्रताराको पूजा मेलामा पनि सहभागी भएका छन् । देउवा आलीताल र परशुराम धाममा पनि पुगेका थिए । देउवा आफ्नो जन्मगाउँको पीपल चौतारामा गाउँले र नातागोतासँगै टुसुक्क बसेको तस्बिर पनि सार्वजनिक भएको छ । जुन सामान्यतया उनीबाट कमैलाई अपेक्षा थियो ।
राष्ट्रिय राजनीति बाहिरबाट देखिएजस्तो सहज र सरल ढंगको छैन । सत्ता साझेदारमध्ये निर्णायक तहमा रहेका ७९ वर्षीय देउवाले आफ्नो राजनीतिक जीवनको उत्तरार्द्धमा फुर्सदिलो जस्तो भएर गरेको जिल्ला दौडाहालाई अर्थपूर्ण रूपमा हेर्नेहरू धेरै छन् ।
देउवाले डडेलधुराबाट निर्वाचन जित्दै सात पटक सांसद र पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । उनले आगामी आमनिर्वाचनमा के गर्लान् भन्ने जनचासोका बीच जिल्ला दौडाहा गरेका छन् ।
भेटघाट र कुलपूजाको बहाना भए पनि कार्यकर्ताको मनस्थिति बुझेर आउँदो निर्वाचनमा आफूले के गर्ने भन्ने रणनीति स्वरूप सभापति देउवाको जिल्ला भ्रमणलाई अर्थ्याउनेहरू धेरै छन् ।
उग्रतारा मन्दिरमा पूजाका क्रममा परराष्ट्रमन्त्रीसमेत रहेकी पत्नी डा.आरजु राणा देउवा पनि सभापति देउवासँगै थिइन् ।
०७९ को प्रतिनिधिसभा निर्वाचनअघि आयोजित कतिपय चुनावी सभालाई सम्बोधन गर्दा देउवाले अन्तिम पटक उम्मेदवार भएको बताएका थिए । तर, यस पटकको भ्रमणका क्रममा डडेलधुरामा आयोजित पत्रकार सम्मेलनमा ‘०८४ को चुनावमा पनि तपाईं नै लड्नु हुन्छ कि ?’ भन्ने प्रश्नमा हँसिलो मुहारमा देउवाको जवाफ थियो, ‘तपाईं भन्नूस्, तपाईं भोट दिने कि नदिने ? दिने भए लड्छु ।’
देउवाको जिल्ला भ्रमणपछि ०८४ को चुनावमा पनि देउवा फेरि अन्तिम पटक भन्दै लड्न तयार हुने बुझाइमा कार्यकर्ता पुगेका छन् । भ्रमणका क्रममा देउवाले सदरमुकाममा पत्रकारको प्रश्नमा दिएको जवाफको अर्थ ०८४ मा पनि उनी आफैं अग्रसर हुने अनुमान हुन थालेको छ ।
कार्यकर्तामाझ यसपटक देउवाको प्रस्तुति उक्त अनुमानलाई बल दिने खालको रहेको कांग्रेस कार्यकर्ता बताउँछन् । पालिका र वडास्तरबाट आएका कार्यकर्तालाई उनले एउटै वाक्य दोहो¥याएका थिए । उनी भन्दै थिए, ‘डडेलधुरामा सुरु गरेका तर अधुरा काम चाँडै पूरा हुनेछन् ।’
सभापति देउवाको प्रस्तुति हेर्दा ०८४ को चुनावमा पनि डडेल्धुराबाट नै लड्ने जस्तो देखिएको चर्चा छ । चुनावका बेलाबाहेक जिल्ला नआउने देउवामाथि सबैभन्दा ठूलो गुनासो हो ।
यसपटकको भ्रमणका क्रममा उक्त आरोपलाई मेटाउन खोजेजस्तो देखिएको कार्यकर्ताहरूले बताएका छन् ।
कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँद सभापति देउवाको यो भ्रमण भेटघाटका लागि मात्र भएको बताएका छन् । सभापति देउवाले जिल्लामा आएर फुर्सदिलो गरी सबै स्थानीय तह र वडासम्मका कार्यकर्तालाई भेटघाट गरेकामा साउँदले खुसी व्यक्त गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया