एक लाख जरिवानाबारे बालेनलाई एमालेले दियो जवाफ
काठमाडौं । एमालेलाई काठमाडौं महानगरपालिकाले १ लाख रुपियाँ जरिवानाको पुर्जी थमाएपछि हँगामा भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले एमालेलाई फोहर गरेको भन्दै जरिवाना स्वरुप १ लाख रुपियाँको पुर्जी थमाएका थिए । एमालेले औचित्यहीन चिर्कटो भन्दै जरिवाना नतिर्ने जनाएको छ ।
शुक्रबार दरबारमार्गमा एमालेको कार्यक्रम नसकिँदै फेसबुकबाट बालेनले एक लाख रुपियाँ जरिवाना गरेको भनर स्टन्टबाजी गरेको एमालेको भनाइ छ ।
कार्यक्रम सकिएपछि एमालेका स्वयंसेवकले कार्यक्रम स्थल सरसफाइ गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् ।
एमालेको सभा सकिए लगत्तै काठमाडौं महानगरको नगर प्रहरी बलले जागरण सभा गर्ने क्रममा सडक तथा सडक पेटीमा जथाभाबी फोहोर मैला गरी वातावरण प्रदूषण गरेको भन्दै फोहोर मैला व्यवस्थापन ऐन,२०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख जरिवाना तोकेको थियो ।
महानगरले जरिवाना तोके लगत्तै एमालेका महासचिव शंकर पोखरेलले शुक्रवार राति नै फेसबुकमा लामो स्ट्याटस लेख्दै मेयर बालेन एमालेविरुद्ध परिचालित रहेको भन्दै प्रतिक्रिया दिएका थिए ।
पोखरेलले भने, ‘काठमाडौं महानगरका मेयर बालेन नेकपा एमालेका विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभा पछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट बुझ्न सकिन्छ । कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाइ आयोजकका तर्फबाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा ।’
जति वेला जरिवाना पर्चा सार्वजनिक गरियो त्यति वेला एमालेका स्वयंसेवक कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राखिरहेको महासचिव पोखरेलले बताएका छन् ।
पोखरेलले भने, ‘तर पनि मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्टबाजीमा थियो । जुन समय अगावै सार्वजनिक गरियो ।’
मेयर बालेनलाई एमाले आफ्नो कार्यक्रमपछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा हेक्का नरहेको पनि पोखरेलले लेखेका छन् ।
‘जागरण सभा यस प्रकारका स्टन्टबाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि हो’, महासचिव पोखरेलले भनेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया