कांग्रेसको संगठन बचाउन हामीले उपनिर्वाचन जित्नैपर्छ : सहमहामन्त्री उपाध्याय

काठमाडौं । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले स्थानीय तहको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई जिताउनै पर्ने बताएकी छिन् ।

आइतबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ९ द्वारा आयोजित उपनिर्वाचन एवं १०० दिने अभियान कार्यक्रममा उपाध्यायले उपनिर्वाचनले राष्ट्रिय चुनावलाई समेत प्रभाव पार्ने बताइन् ।

उनले भनिन्, ‘साढे दुई वर्षपछि राष्ट्रिय तहको निर्वाचनमा हामी जानै पर्ने हुन्छ । संगठनलाई बचाउनलाई, संगठनको महत्वको लागि पनि अहिले नेपाली कांग्रेसले स्थानीय तहमा जनप्रतिनिधि नेपाली कांग्रेसकै जिताउनुपर्छ यसले हाम्रो संगठनलाई मजबुत बनाउँछ ।’

‘सबैको सहमति र सहकार्यले कीर्तिपुर नगरपालिकामा अहिले उम्मेदवार दिइएको छ’, उपाध्यायले भनिन्, ‘पार्टीमा काम गरेको पुरानो व्यक्तिले टिकट पाएको हुनाले कीर्तिपुर गुम्दैन भन्ने कुरा हामी पक्का छौँ ।’

सहमहामन्त्री उपाध्यायले भनिन्, ‘उम्मेदवार हुँदाको लडाइँ र उम्मेदवार भइसकेपछिको लडाइँ फरक हुन्छ । उम्मेदवार बन्न लडाइँ लड्न पाइन्छ ।’

‘उम्मेदवारी दर्तासम्मको लडाइँ जायज छ । त्यसपछिको लडाइँ नाजायज हुन्छ’, उनले भनिन्, ‘मैले टिकट पाइन भनेर बाहिर बस्नु गलत हुन्छ ।’

नेतृ उपाध्यायले भनेकी छिन्, ‘सबैसँग सहयोग मागेर अहिले नेपाली कांग्रेसलाई जिताउनुपर्ने महत्वपूर्ण दायित्व छ । हामी सबैको काँधमा दायित्व आएको छ ।’

‘क्रियाशील सदस्यहरूको भूमिकाका विषयमा समीक्षा गर्ने बेला आएको छ । गत निर्वाचनमा वडाहरूमा क्रियाशील सदस्यता भएको संख्याभन्दा पनि कम मत आएको छ’, उनले भनिन्, ‘यो कुरा पार्टीमा लिखत भइसकेको छ ।’

‘क्रियाशील सदस्यता भन्दा कम मत आएको जानकारी पनि भइसकेको छ’, उपाध्यायले भनिन्, ‘क्रियाशील सदस्य भएर मतदान अर्को दलमा गर्छन् भने त्यो पार्टीको सदस्य हो कि होइन ? भन्ने विषयलाई छानविनको दायरामा ल्याउनुपर्छ भन्ने अहिले यो कुरा पार्टीमा ठूलो बहस भएको छ ।’

उनले भनिन्, ‘क्रियाशील सदस्यता दिँदा पार्टीको मूल्य, मान्यता र आदर्श छ कि छैन भन्ने कुरा हेर्नुपर्छ । भोलिका दिनमा पार्टीको संगठन विस्तार र पार्टीको उम्मेदवारलाई मतदान गर्छ कि गर्दैन हेर्नुपर्छ ।’

Published : Sunday, 2024 November 24, 10:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया