भारतमा प्रधानमन्त्री मोदीको जबरजस्त कम्ब्याक, खुसी हुँदै के भने ?
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा नेतृत्वको गठबन्धनलाई मतदान गरेकोमा आभार प्रकट गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल एक्समार्फत मोदीले महाराष्ट्रको प्रगतिको लागि भाजपा र भाजपा नेतृत्वको गठबन्धनले काम गरिरहने आश्वासन दिएका छन् ।
उनले भने, ‘विकासको जित, सुशासनको जित हुन्छ । एकताबद्ध भएर हामी अझ माथि उक्लनेछौं । एनडीएलाई ऐतिहासिक जनादेश दिएकोमा महाराष्ट्रका मेरा दिदीबहिनी र दाजुभाइ र विशेष गरी राज्यका युवा र महिलाहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’
‘यो स्नेह र न्यानोपन अतुलनीय छ । म जनतालाई विश्वास दिलाउन चाहन्छु कि हाम्रो गठबन्धनले महाराष्ट्रको प्रगतिको लागि काम गरिरहनेछ । जय महाराष्ट्र’, मोदीले भनेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले विभिन्न राज्यका जनतालाई विभिन्न उपचुनावमा एनडीएका उम्मेदवारलाई आशीर्वाद दिएकोमा पनि धन्यवाद दिएका छन् ।
भाजपा नेतृत्वको महायुति गठबन्धनले महाराष्ट्रमा कीर्तिमानी बहुमतका साथ सत्ता कायम राखेसँगै प्रधानमन्त्री मोदीले महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ऐतिहासिक विजय भएको बताएका हुन्
महायुतिले महाराष्ट्र विधानसभा चुनावमा २८८ सिटमध्ये २३० सिटमा जित हासिल गरेको छ । विपक्षी गठबन्धन महाविकास अघाडीले ४८ सिटमा जित हासिल गरेको छ । अन्यले १० सिट जितेका छन् ।
झारखण्डमा झारखण्ड मुक्तिमोर्चा (जेएमएम) नेतृत्वको गठबन्धनले ५६ सिट जितेको छ । जेएमएम एक्लैले ३४ सिट, कांग्रेसले १६, राष्ट्रिय जनता दलले चार र भाकपा (माले) ले २ सिट जितेको छ ।
झारखण्डमा विपक्षी भाजपा गठबन्धनले २४ सिट जितेको छ । अन्यले १ सिट जितेको छ ।
महाराष्ट्रमा भाजपाको ऐतिहासिक सफलता हो । यसअघिको निर्वाचनमा भाजपा गठबन्धनले २०७ सिट जितेको थियो । अहिले २३ सिट फाइदा भएको छ ।
कांग्रेस गठबन्धनले यसअघि ७८ सिट जितेकामा अहिले ३० सिट घाटा खाएर ४८ मा रोकिएको छ । झारखण्डमा भने भाजपालाई ६ सिट घाटा लाग्दा जेएमएस नेतृत्वलाई ९ सिट फाइदा भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया