भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदी स्वदेश फिर्ता
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी स्वदेश फिर्ता भएका छन् ।
आइतबार जनरल द्विवेदी श्रीमती सुनिता द्विवेदीसहित स्वदेश फिर्ता भएको नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी द्विवेदी भारत प्रस्थान गरेका हुन् ।
द्विवेदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले बिदाइ गरेका छन् ।
भ्रमणको दौरान जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेका थिए ।
जनरल द्विवेदीले आफ्नो भ्रमणको दौरान राष्ट्रपति पौडेल, प्रधानमन्त्री केपी ओली लगायतसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए ।
द्विवेदीले काठमाडौंका शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित पश्चिम पृतना हेडक्वाटरको भ्रमण गर्नुका साथै मुस्ताङ्गस्थित मुक्तिनाथ मन्दिरको दर्शन र माउण्टेन फ्लाईटमार्फत विभिन्न हिमालहरूको अवलोकन समेत गरेका थिए ।
भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया