मान्छे बिक्री गर्ने महिला र पुरुष पक्राउ, गिताबहादुर पनि पक्राउ

काठमाडौं । फ्रि भिषा फ्रि टिकटमा घरेलु काममा लगाइदिने प्रलोभनमा पारी कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोटको तादी गाउँपालिका–५ घर भएकी ३२ वर्षीय कुसुम कँडेल र सिन्धुपाल्चोकको चौतारा नगरपालिका–६ घर भएका ५० वर्षीय सकुलाल भन्ने माईला लामा तामाङ रहेको प्रहरीले जनाएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले माईलालाई बिहीबार र कुसुमलाई शुक्रबार काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरेको जनाएको छ ।

उनीहरूले पीडितलाई मासिक १ सय २० कुवेती दिनार तलबमा काममा लगाइदिने भनि प्रलोभन देखाई ९ सय कुवेती दिनार लिई २०८० साउन ४ गते नेपालबाट दुबई हुँदै कुवेतको अलजारा पुर्‍याई बेचबिखन गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

उता, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–१ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–६ बस्ने ५२ वर्षीय गिताबहादुर मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

गिताले कोरिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ९ लाख रूपियाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।

मगरलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Sunday, 2024 November 24, 8:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया