शहीद र जेलमा यातना पाएकाहरूका कारण धेरै परिवर्तन भयो : सभापति देउवा

जनकपुर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउनु सबैको कर्तव्य भएको बताएका छन् ।

सोमबार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२५, लोहनामा कांग्रेसका नेता एवं राष्ट्रियसभाका पूर्वसदस्य स्वर्गीय अरविन्द ठाकुरको अर्धकदको शालिक अनावरण गर्दै देउवाले जनतालाई अझै धेरै अधिकार सम्पन्न बनाउनुपर्ने बताए ।

उनले नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रममा शहीद हुनेहरूले देखाएको बाटोमा सबै हिँड्न जरुरी रहेको बताएका छन् ।

मुलुकमा विभिन्न परिवर्तनका लागि शहीद भएका र जेलमा यातना पाएकाहरूका कारण देशमा धेरै परिवर्तन भएको सभापति देउवाले बताएका छन् ।

लोकतान्त्रिक सरकारलाई अपदस्त गरेका राजा महेन्द्रमाथि कांग्रेसको सशस्त्र आन्दोलनको क्रममा बम प्रहार गर्ने क्रममा पक्राउ परी १६ वर्षसम्म जेल बसेका प्रजातान्त्रिक योद्धा ठाकुर जस्ता नेताका कारण नै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आएको देउवाले बताए ।

कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले नेपाली कांग्रेसले नै मुलुकमा विकासका ठूला परियोजनाहरूको निर्माण गरेको बताए । कांग्रेसले जनतालाई धेरै अधिकार दिएको भन्दै यादवले अहिले पनि देश तथा मधेशको हित चाहने पार्टी कांग्रेस नै भएको बताएका छन् ।

कांग्रेसका नेता विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक शासन व्यवस्थाका लागि ठूलो योगदान दिएका स्वर्गीय नेता अरविन्द ठाकुरको सपना साकार पार्न जरुरी रहेको बताए ।

Published : Monday, 2024 November 25, 7:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया