नेपालको तर्फबाट अहिले कुनै पनि ऋण लिने अवस्थामा छैनौँ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले चीनसँग नेपालले ऋण लिने अवस्थामा नरहेको धारणा स्पष्ट रुपमा राखेको बताएकी छिन् ।
शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री डा.राणाले भनिन्, ‘नेपालको तर्फबाट अहिले कुनै पनि ऋण लिने अवस्थामा छैनौँ । तपाईहरूबाट सहयोग होला भन्ने आशामा छौँ ।’

‘हाम्रो देशभित्रको परिस्थितिले गर्दा ऋण लिने स्थिति छैन भनेर मैले प्रष्ट रुपमा राखे । हाम्रो कुरा राम्रोसँग सुनिदिनुभयो’, मन्त्री डा.राणाले भनिन् ।

परराष्ट्रमन्त्री डा.राणाले बीआरआईका विषयमा नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेतृत्वा गहन छलफलहरू भएको बताइन् । उनले भनिन्, ‘नेपाली कांग्रेस र नेकपा (एमाले)को नेताज्यूहरू बसेर नेपालको इतिहाँसमा गहनतम रुपमा यसमा अक्षर अक्षर पढेर बुझेर नेपालको लामो समयसम्म असर पर्छ भनेर अगाडि कसरी जाने भनेर नेताहरूले छलफल गर्नुभएको छ ।’

उनले भनिन्, ‘बीआरआईको एमओयु सन् २०१७ मा नै भइसकेको छ । अब आउने कुनै पनि एग्रिमेन्ट हामीले गरियो भने त्यसकै सेरोफेरोमा गर्ने हो । त्योभन्दा अगाडि बढ्ने कुरा केही पनि हुँदैन । यसमा धेरै विकासकै कुराहरू राखेका छौँ । अन्तर कनेक्टिभिटीका कुराहरू राखेका छौँ ।’

‘मोडालिटीमा के हुने भनेर दुई पार्टीमा छलफल भएको छ । नेपाली कांग्रेसले सरकारमा जानुभन्दा अगाडि नै ऋण नलिने भनेर पास नै गरिसकेको कुरा सरकारमा रहेको साझेदार पार्टीलाई पनि थाहा छ’, उनले भनिन्, ‘त्यो मोडालिटीमा बसेर नयाँ प्रोजेक्ट कुन कुन छ भनेर अलरेडी गरिरहेको प्रोजेक्टहरूलाई कसरी बढाउने भन्नेछ ।’

उनले भनिन्, ‘टोखा–छहरे, १४ वटा नाका खुलेका छन् । ती नाका पनि बीआरआई अन्तर्गतका हुन् । यी कुराहरू अब आउने दिनमा अगाडि बढाउने छौँ ।’

आफ्नो चीन भ्रमणबारे परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘व्यापार, लगानी, अन्तरदेशीय सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने विषयमा हाम्रो सम्बन्ध केन्द्रित हुनुपर्छ भन्ने धारणा राखियो ।’

‘नेपालको सार्वभौमसत्ता र स्वतन्त्रतालाई जहिले पनि सहयोग गर्छु भनेर उहाँले भन्नुभयो । हामीले पनि वान चाइना पोलिसीलाई सहयोग गर्छौं । जुन गभर्मेन्ट आएपनि, जुन पार्टीको सरकार भए पनि जुन सिष्टम आए पनि चीनका विषयमा एक चीन नीति रहेको छ भन्यौँ । नेपालको अडानका विषयमा उहाँले प्रशंसा पनि गर्नुभयो’, उनले भनिन् ।

‘ट्रान्स हिमालय मल्टिडायमन्सनल कनेक्टिभिटीको बारेमा धेरै परामर्शहरू भयो । यसलाई अगाडि बढाउने कुराहरू यसमा चल्यो । विगतका प्रधानमन्त्रीज्यू, परराष्ट्रमन्त्रीहरूको भ्रमणमा भएको सहमतिका बारेमा कुरा राख्यौँ । उहाँहरूले हामीलाई तपाईहरू पनि आन्तरिक होमवर्क गरेर आउनुस् । हामी पनि आन्तरिक गृहकार्य गरेर कुन कुनमा हामी सहयोग गर्न सक्छौँ ? उहाँहरूले प्रष्ट राख्नुभयो’, मन्त्री डा.राणाले भनिन् ।

चीनको कम्युनिस्ट पार्टीको निमन्त्रणामा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण हुन लागेकोले आफूलाई तयारीका लागि चीनमा चिनियाँ विदेश मामिलामन्त्री वाङ यीले बोलाएको मन्त्री डा.राणाले बताइन् । मन्त्री डा.राणा बिहीबार चीनको छेङ्दु प्रस्थान गरेकी थिइन् । डा.राणा शनिबार बिहान स्वदेश फिर्ता भएकी छिन् ।

Published : Saturday, 2024 November 30, 1:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया