शिक्षक संघका पूर्व केन्द्रीय अध्यक्ष ज्ञवालीको निधन, सभापति देउवाद्वारा श्रद्धाञ्जलि व्यक्त
काठमाडौं । नेपाल शिक्षक संघका पूर्व केन्द्रीय अध्यक्ष एवम् नेपाली कांग्रेसका नेता मोहन ज्ञवालीको निधन भएको छ ।
शुक्रबार साँझ काठमाडौंको टोखाको कृष्ण मन्दिरको सिडीबाट ओर्लने क्रममा लडेर बेहोस भएका ज्ञवालीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको कांग्रेसका नेता एवम् महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद सापकोटाले बताए ।
ज्ञवालीलाई बेहोस अवस्थामा देखेपछि प्रहरीले तत्काल उद्धार गरेर त्रिवि शिक्षण अस्पतालमा पठाएको थियो । ढिलोसम्म नआएपछि आफन्तहरू खोज्दै जाने क्रममा अस्पतालमा भेटाएका थिए ।
चिकित्सकहरूले उपचारका क्रममा शुक्रबार राति नै ज्ञवालीलाई मृत घोषणा गरेको कांग्रेस नेता सापकोटाले बताए ।
शनिबार संघका पूर्वअध्यक्ष ज्ञवालीको पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गरिएको छ । अन्तिम दाहासंस्कार गर्नुअगाडि पूर्वअध्यक्ष ज्ञवालीको शव नेपाल शिक्षक संघको केन्द्रीय कार्यालय धुम्बाराहीमा राखेर अन्तिम श्रद्धाञ्जलि दिइएको सापकोटाले बताए । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ज्ञवालीको पार्थिव शरीरमा कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् । पार्टी सभापति देउवासँगै कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारीले पनि ज्ञवालीलाई श्रद्धाञ्जलि दिएका छन् ।
गुल्मी जिल्ला स्थायी घर भएका ज्ञवाली पत्नीका साथ काठमाडौंमा बस्दै आएका थिए । ज्ञवाली दुई कार्यकाल नेपाल शिक्षक संघको केन्द्रीय अध्यक्ष भएर संगठन चलाएका थिए ।
पशुपति आर्यघाटमा कांग्रेसका उपसभापति धनराज गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस केन्द्रीय सदस्य चन्द्र केसी, केन्द्रीय सदस्य एवम् सांसद प्रतिमा गौतम लगायतका शुभेच्छुकहरूले ज्ञवालीलाई अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।
स्व.ज्ञवालीलाई पशुपति आर्यघाटमा गृहजिल्ला गुल्मीका जिल्लाबासीले अन्तिम श्रद्धाञ्जलि दिएका छन् । ज्ञवालीको १३ दिनको कार्य पशुपतिमा गरिनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया