रविका पार्टनर जीवीलाई संगठित अपराध, आइतबार ठगका अभियुक्त रविको पालो

पोखरा । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगका फरार अभियुक्त गितेन्द्रबाबु राई (जीवी)सहितका व्यक्तिविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ ।

राईसहित सहकारी ठगीका १९ जना अभियुक्तविरूद्ध थप मुद्दा दायर भएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले बचत राखेको रकम हिनामिना आरोपमा शुक्रबार कास्की अदालतमा सहकारी संचालकहरूविरूद्ध थप मुद्दा दायर गरिएको छ ।

यसअघि सरकारी वकिल कार्यालयले उनीहरूलाई सहकारी ठगीको अभियोग मात्र लगाएर मुद्दा दायर गरेको थियो ।

शुक्रबार लगाइएको थप अभियोगमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार बिगो र सजाय माग गरिएको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बताइन् ।

सहकारीका पूर्वअध्यक्ष राई, भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेलविरुद्ध मुद्दा दायर भएको छ ।

सहकारीका सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईविरूद्ध पनि मुद्दा दर्ता गरिएको छ । पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका, ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरूङविरूद्ध पनि मुद्दा दर्ता भएको सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ ।

सहकारी ठगी गरेर र अवैध तरिकाले विभिन्न कम्पनीमा सहकारीको बचत रकमान्तर गरेर खर्च गरेकाले उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध ऐन आकर्षित भएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

सहकारी ठगी अपराध गरेर कमाएको र अपराध गर्न संगठित रूपमा लागेकाले सम्पत्ति शुद्धीकरण र संगठित अपराध ऐन अनुसार थप मुद्दा लानुपरेको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

उक्त कसूरमा जोडिएका सबै जनाबाट एकमुष्ट १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपियाँ बिगो दाबी गरिएको जिल्ला न्यायाधिवक्ता काफ्लेले बताएकी छिन् । उनीहरूलाई ८ देखि १० वर्ष कैद सजाय माग दाबी गरेको पनि काफ्लेले बताएकी छिन् ।

यसअघि उनीहरूलाई सहकारी ऐन अनुसार कारबाही गर्न २०८० असोज १९ गते मुद्दा दर्ता भइसकेको छ । अहिले उक्त मुद्दा जिल्ला अदालतमा विचाराधीन छ ।

त्यतिबेला उनीहरूविरूद्ध १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपियाँ हिनामिना गरेको भन्दै बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजाय माग गरिएको थियो ।

सोही सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर हिनामिना गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, जीबी राईका साझेदार रामप्रसाद खनाल, लीला पछाई र कृष्ण गुरूङविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण ऐनअनुसार अभियोग पत्र आइतबार अदालतमा पेस गर्ने जिल्ला सरकारी वकिलको कार्यालयको तयारी छ ।

कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति लामिछानेविरुद्ध पनि प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिरहेको छ । सहकारी ठगका अभियुक्त लामिछाने कास्की प्रहरीको हिरासतमा अधिकांश सुविधा लिएर बसेका छन् । लामिछानेलाई अन्य अभियुक्तलाई भन्दा निकै सहज रुपमा राखिएको छ ।

Published : Friday, 2024 December 20, 8:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया