गुप्तचरका ईन्स्पेक्टरको गाडीभित्र प्रहरीको शव फेला

सिमरा । राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का ईन्स्पेक्टर श्रीकान्त तिवारीको गाडीभित्र नेपाल प्रहरीका कार्यालय सहयोगी राजकुमार रुम्बाको शव फेला परेको छ ।

शनिबार बिहान बारा जिल्लामा कारभित्र प्रहरीका कार्यालय सहयोगी रुम्बा मृत भेटिएको प्रहरीले जनाएको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १ निवासी रुम्बाको शव वडा नं. ११ स्थित सडकखण्डको छेउमा फेला परेको थियो ।

बागमती नम्बरको ०१–०२८–च–७६१६ नम्बरको कारबाट रुम्बाको शव फेला परेको बारा प्रहरीका प्रमुख एसपी महेन्द्र खड्काले बताए । मृत भेटिएका रुम्बा सिमरास्थित विमानस्थलमा कार्यरत थिए ।

अमाडार सडक खण्डको बाटोको साइडमा रोकी राखिएको कारभित्र रुम्बाको शव फेला परेको थियो । रुम्बाको टाउकोको पछाडि चोट भएकाले हत्याको आशंका प्रहरीले गरेको छ ।

रुम्बाको शव फेला परेपछि घटनाका विषयमा अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।

Published : Saturday, 2024 December 21, 1:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया